मलाई सम्झी आमा रुँदी हुन्’

वनकट्टी, दाङ — अझै पनि मेरी आमा मेरै तस्बिर छुन्छिन् होलामलाई सम्झी मेरी आमा धुरुधुरु रुन्छिन् होला कालिकोट भर्ता गाउँपालिका–३, गोठीमुलाकी कल्पना अधिकारी बेलाबेला यी शब्द गुनगुनाइरहन्छिन् । कुनै कार्यक्रम भयो, यही गीत फर्माइस हुन्छ । उनी सुनाउँछिन् । साथीभाइ सुनेर आँसु थाम्न सक्दैनन् । सबैको पीडा झल्काउने यो गीत तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टीस्थित सहिद स्मृति आवासीय माविको साझा भावना बनेको छ । घरमा आमा भएकाहरू सुनेर चित्त बुझाउँछन् । कोही नहुनेहरू झनै भक्कानिन्छन् । १० कक्षाकी विद्यार्थी अधिकारी ६ वर्षअघि यहाँ पढ्न आएकी हुन् । बुबा नैनराज तत्कालीन माओवादी पार्टी कार्यालयमा काम गर्थे । ०५९ मा सुरक्षाकर्मीबाट मारिए ।

बुबाको मृत्युपछि उनी जन्मिइन् । आमा पुल्कीको अर्को विवाह भयो । त्यसपछि उनी फुपूको घरमा बसेर हुर्किन् । पढाइमा समस्या भएपछि आवासीय सुविधासहित यहाँ आइपुगेकी हुन् । ६ वर्षमा आमालाई खुबै सम्झिन्छन् । ‘आमासँग कहिलेकाहीं फोनमा कुरा हुन्छ । दसैंतिहारमा घर जान्छु,’ उनले भनिन्, ‘आमालाई भेट्न मन लाग्छ, नयाँ घरमा भएकाले अप्ठ्यारो लाग्छ ।’ उनी इन्जिनियरिङ पढ्ने लक्ष्य लिएकी छन् ।उनीजस्तै सशस्त्र द्वन्द्वमा अभिभावक गुमाएका १६ जिल्लाका ४ सय ५० बालबालिका एउटै छात्रावासमा बस्छन् । उनीहरूलाई घर, बाबुआमा, परिवार, आफन्त र गाउँको झल्को आइरहन्छ । विद्यालयको चार घेराबाट बाहिरी संसार अन्धकार लाग्छ । धेरै ठूलो सपना देख्ने ठाउँ छैन । साँघुरो कोठामा २८ जनासम्म अटसमटस बस्नुपरेको छ ।

चाडबाडमा घर जान मन लाग्छ । घरमा स्वागत गर्ने बाआमा नहुँदा मन रुन्छ । साथीहरू आपसमा दुःख साटासाट गर्छन् । लाइन लागेर सँगै खाना खान्छन्, आफैं भाँडा माझ्छन् । छात्रावासमा एक/एक जना अगुवा छानिन्छन् । अगुवाले सिट्टी बजाएपछि सबैजना खानाका लागि लाइन लाग्नुपर्छ । अनुशासनमा रहेर खाने, बस्ने र पढ्ने व्यवस्था मिलाइएको छ ।रोल्पाको सुवर्णावती गाउँपालिका–१, गजुलका दुर्गाप्रसाद विक ७ कक्षामा पढछन् । उनी तीन महिनाको हुँदा बुबा जंगबहादुर मारिए । आमा भीमलाले तीन वर्षअघि दोस्रो विवाह गरिन् । आफन्त भनेको मावली घर मात्र हो । ‘चाडपर्व आउँदा घरको याद आउँछ । अन्य समयमा पनि घर जान मन लाग्छ तर कोही छैन,’ उनले भने, ‘खाली घरमा गएर के गर्नु ?’

कालिकोटको रास्कोट नगरपालिकास्थित शिवखानाकी सिर्जना बम ६ कक्षा पढछिन् । बुबा नरजङको युद्धमा मृत्यु हुँदा उनी दुई महिनाकी थिइन् । बुबाबारे केही थाहा छैन । आमा सावित्राले दोस्रो विवाह गरिन् । आमाको पनि ७ वर्षअघि मृत्यु भयो । ‘अब मेरो भन्ने कोही छैन । घर सुनसान हुन्छ,’ उनले भनिन्, ‘घर, स्कुल जे भए पनि यही छात्रावास हो । वर्षभरि यहीं बित्छ ।’ इन्जिनियर बन्ने लक्ष्य लिएकी बम १२ कक्षापछि के गर्ने भन्ने चिन्तित छिन् । ‘१२ कक्षापछि छात्रावासमा बस्ने र पढ्ने व्यवस्था छैन,’ उनले भनिन्, ‘त्यसपछि कहाँ गएर बस्ने, कसरी पढ्ने भन्ने चिन्ता छ ।’

थबाङकी सुबास्ती बुढाको घरमा पनि कोही छैन । बुबा बलमान युद्धमा बेपत्ता भएको ७ महिनापछि उनी जन्मिइन् । आमा बिनमाया अर्को विवाह गरेर हुम्ला पुगेकी छन् । घरमा वृद्ध बाजेबोइ मात्र छन् । उनले छात्रावासमा ५ वर्ष बिताइसकिन् । ७ कक्षा अध्ययनरत बुढा भविष्यप्रति चिन्तित छन् । ‘डाक्टर बन्ने लक्ष्य छ तर कसरी भन्ने चिन्ता लाग्छ,’ उनले भनिन्, ‘भविष्यमा हामीलाई सहयोग गर्ने कोही हुन्छ कि हुँदैन भनेर डर लाग्छ । १० कक्षापछि छात्रावासमा बस्न र पढ्न पाइँदैन ।’ जुम्लाको तिला गाउँपालिका–२ राराहिलकी चाहना परियार ५ कक्षा पढछिन् । बुबा जैदुनी दमाई सदरमुकाम खलंगा आक्रमणमा मारिए । त्यतिबेला उनी १० महिनाकी थिइन् । आमा शान्तिले अर्को विवाह गरिन् । उनी यहाँ पढिरहेकी छन् । घरको सम्झनाले सताउँछ ।रुकुमको मुसिकोट नगरपालिका साँखका मोहन पाण्डे ९ कक्षा पढ्छन् । उनका बुबा खिमबहादुरको मृत्युपछि पाण्डे जन्मिए । अहिले छात्रावासमा आफू जस्तै धेरै साथीहरू भेटाएका छन् । बसाइ कठिन छ । तर पनि साथीहरूसँग रमाउँदै बस्नुपरेको बताउँछन् । ‘गर्मीमा पंखाको व्यवस्था छैन । एउटै खाटमा दुईजना सुत्नुपर्छ,’ उनले भने, ‘जति समस्या भए पनि बस्नैपर्ने बाध्यता छ । घरमा बसेर पढ्न सक्ने अवस्था छैन ।’

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका शिवलाल रावतले पनि बुबा डब्बलेलाई गुमाए । आमा झौंरीलाई छोराछोरी पाल्न र पढाउन समस्या भयो । त्यसपछि शिवलाल दिदी रीताका साथ यहाँ आए । रीता १० कक्षा पढछिन् । दुवै एउटै विद्यालयमा छन् । डाक्टर बन्ने लक्ष्य लिएका शिवलाल सपना पूरा हुन्छ कि हुँदैन भन्नेमा ढुक्क छैनन् । ‘पछिसम्म कतैबाट सहयोग पाए डाक्टर बन्थें । सहयोग पाएन भने कसरी पढ्नु र ?’ उनले भने, ‘सबै साथीहरूको उस्तै समस्या छ ।’
२०६६ मा स्थापित विद्यालयमा २ सय ६१ बालक र १ सय ८९ बालिका छन् । एउटै विद्यालय परिसरभित्र बालक र बालिकाका लागि छुट्टाछुट्टै छात्रावास स्थापना गरिएको प्रधानाध्यापक नारायण पौडेलले बताए । अभिभावक नभएकाले १० कक्षापछिको शिक्षा अनिश्चित रहेको उनले बताए ।

यो लेख kantipurdaily.com का लागी दुर्गालाल के.सीले लेख्नुभयको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार