कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही

काठमाडौँ— कतार सरकारले दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ। प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले दिउँसो घाममा कामदारलाई काममा लगाएको भन्दै कारबाही गरेको जनाएको छ । मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गरेको थियो । ती कम्पनीको तीन दिन काम बन्द गराएको छ ।

श्रम मन्त्रालयले निर्माण, कृषि र उद्योग क्षेत्रका कम्पनीलाई कारबाही गरेको हो । कतारले जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि दिउँसो ३:३० सम्म बाहिर क्षेत्रमा काममा लगाउन नपाइने निर्णय गरेको छ। कतारस्थित अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले दिउँसो काम गर्न लगाएको प्रतिबन्धले कामदारलाई उच्च तापक्रमबाट बचाउने भन्दै स्वागत गरेको थियो ।

खाडीका अन्य देश बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, साउदी अरब र यूएईले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म दिउँसोको समयमा बाहिर काम गर्न रोक लगाउने सूचना जारी गरेको छ। बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२:३० देखि ३:३० सम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२:३० देखि ३ बजेसम्म काम गराउन रोक लगाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार