प्रकृति सँग रमाउँदै गायिका सुनिता दुलाल(फोटो फिचर)

गायिका सुनिता दुलाल सिन्धुपाल्चोकको जलविरे, बलेफीमा जन्मिईन् । जलविरेमा शिवालय थियो । तीजका बेला आफ्नो आमा र भाउजुसँगै सुनिता त्यही पुग्थिन् । त्यो गायिका बन्नु अघिकै प्रसंग हो । गायिका बनिसकेपछि त उनका अधिकांश तिज महोत्सव र कन्सर्टहरूमै बिते । उनी तीजमा ब्रत त बसिन् । तर, फलफूल र जुस पिएर । निराहार कहिल्यै बसिनन् ।

सुनिताको सांगितिक यात्रा: २०६० तिरै हो, सुनिताको पहिलो गीत रेकर्ड भयो– मायालुले झल्को दिईरहने । त्यसपछि रेकर्ड गरिएको तीज गीत – अब त मैले नि झुम्का लगाउँछु । त्यसपछि हो, उनलाई महोत्सवहरुबाट निम्तो आउन थालेको । सिन्धुपाल्चोकको चौतारामा नेत्रहिन संघ, सिन्धुपाल्चोकले आयोजना गरेको महोत्सबमा उनले पहिलो पटक भाग लिईन् । सूरूमा १८ हजार रूपैंयाँ पारिश्रमिक माग गरे पनि पछि उनले पारिश्रमिक नै लिईनन्

तर, त्यसै दिन कतारबाट सुनितालाई कन्सर्टको निम्तो आयो । एउटै शो को ६५ हजार रुपैंयाँ पारिश्रमिक लिईन् । एकै दिन दुई वटा शो गर्ने अवसर मिल्यो । त्यसपछि त विदेश जाने ढोकाहरू क्रमशः खुल्दै गए । भ्याई, नभ्याई हुन थाल्यो । दोस्रो र तेस्राेमा सिंगापुर, अमेरिका पुगिन् ।

लोक, आधुनिक, दसैं, तिहारका गीतमा स्वर भरेपनि सुनितालाई विशेषगरी तीजकै गीतले चर्चामा ल्यायो । अहिलेसम्म उनी ३५ देश र स्वदेशका कुना–काप्चामा पुगिन् । मुखैमा चिनी, आमाले पकाको मीठो दर खान, नाँचौ सरर, मायालाई के दिउँ म, झम्के फूली जस्ता उनका चर्चित गीत सार्वजनिक भईसकेका छन् । सुनितालाई पुरानो पुस्ताका गायक, गायिकाका गीतले बढी छुन्छ । अरुणा लामा, नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमानराज भण्डारी, जयनन्द लामा, तारा थापा, मीरा राणाका कालजयी गीत सुन्दा बढी आनन्द लाग्छ ।

उदय–मनिला सोताङको जोडीले गाएका गीतहरु उनको मस्तिष्कमै बसेका छन् । घरीघरी उनलाई दोहोर्याउँदै सुन्न मन पर्ने केही गीतहरु छन्– यति चोखो यति मीठो दिउला तिम्लाई माया, आधि बाटो हिंडेपछि तिमीसँग भेट भयो…..।नयाँ पुस्तामा मेलिना राई, समीक्षा अधिकारी, सुगम पोखरेलको आवाजले उनलाई विशेष तान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार