लामो दुरीका सार्वजनिक गाडीमा यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाण्डौ – व्यवसायीहरुले लामो दुरीका गाडी सञ्चालन गर्न थालेका छन् । उनीहरुले सरकारले गरेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दुरीका गाडी चलाउन थालेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिहरुले छलफल गरेपछि व्यवसायीहरुले लामो दुरीका गाडी चलाउन थालेका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले सरकारले उचित मापदण्ड र बस सञ्चालनको कार्यविधि नबनाउँदा गाडी चलाउने विषयमा केही समय व्यवसायीहरु अलमलमा परे । तर मन्त्रालयले बस सञ्चालन कार्यविधि बनाउने जिम्मा यातायात व्यवस्था विभागलाई दिएलगत्तै विभागले कार्यविधि तयार पारेर व्यवसायीलाई दिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बस सञ्चालन गर्ने कार्यविधिमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको बताउनुभयो ।

बस सञ्चालन कार्यविधिमा के छ ?

यातायात व्यवसायीले पालना गर्नुपर्ने कुरा

• बसमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने

• भौतिक दुरी कायम हुने गरी एक पङ्क्तिको एक सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने

• सिटबाहेक अन्यत्र यात्रु राख्न नपाइने

• तोकिएको भाडादर भन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने

• सवारी साधनको ढोकामा र भित्र अनिवार्य रुपमा स्यानिटाइजर राख्नुपर्ने

गाडीका कर्मचारीले पालना गर्नुपर्ने कुरा

• चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाउनुपर्ने

• चालक बस्ने सिट र आसपास सकेसम्म बेर्नुपर्ने

• दैनिक रुपमा बस डिस्इन्फेक्ट गर्नुपर्ने

• खाजा र खाना खाने ठाँउमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गनुपर्ने

• गाडीमा बाहिरबाट हावा पास हुने गरी झ्याल ढोका खाेल्ने

यात्रुले ध्यान दिनुपर्ने कुरा

• गाडी चढ्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने

• गाडीमा चढ्न सामाजिक दुरी कायम गरेर लाईन बस्नुपर्ने

• गाडीभित्र बेलाबेला हातमा स्यानिटाइजर लगाउनुपर्ने तर साबुन पानीले हात धुन मिल्ने ठाँउमा त्यसकै प्रयोग गर्ने

• सकेसम्म अनलाइनमार्फत टिकट काट्नुपर्ने

• बिरामी भए सकेसम्म यात्रा नगर्ने

माथि उल्लेखित कार्यविधि पालना भएकाे/नभएको अनुगमन गर्न यातायात व्यवस्था विभाग, यातायात कार्यालय, ट्राफिक प्रहरी, प्रहरी, पालिकालगायतको संयोजकत्वमा अनुगमन संयन्त्र बनेको छ । अनुगमनका क्रममा स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर सार्वजनिक यातायात सञ्चालन कार्यविधि र मापदण्ड पालना नभएमा कानुनअनुसारको कारबाही हुने र गाडी नै होल्ड गर्न पनि सकिने विभागले जनाएको छ । (उज्यालो अनलाईन बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार