विश्वलाई आईपीएल देखाउने टिममा सुदूरपश्चिमका हर्कबहादुर

धनगढी – शनिबारदेखि इण्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ संस्करण सुरु भएको छ । खेल सुरु भएसँगै विश्वभर यसको रौनकता बढिरहेको छ ।सेप्टेम्बर १९ देखि सुरु भएको यस पटकको आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई)का तीन शहर शारजाह, आबुधाबी तथा दुबईमा को रोना म हामारीका कारण दर्शकको उपस्थिति विना भइरहेको छ । आईपीएल नोभेम्बर १० सम्म चल्ने छ ।

यही आईपीएलका लागि यूएईमा हुनुहुन्छ, सुदूरपश्चिमको डडेल्धुराका हर्कबहादुर कैनी(हरि) । डडेल्धुरामा जन्मिनुभएका हरि कैनीले हामीले टेलिभिजनमा हेर्ने खेललाई आकर्षक बनाएर देखाउनुहुन्छ । हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शक सामु पुर्‍याउने प्राविधिक टोलीमा कार्यरत उहाँ एक भिजन इन्जिनियर हुनुहुन्छ । उहाँले कन्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको कलर म्याचिङको काम गर्नुहुन्छ ।
यस वर्षको आईपीएलमा उहाँ यही काम गरिरहनुभएको छ । उहाँले युएईबाट आईपीएलको प्रत्यक्ष प्रसारण गरिरहनुभएको छ ।उहाँले आइतबार आईपीएलको दोस्रो खेल क्यापिटल्स र किङ्ग्स ११ पञ्जाबबीचको प्रत्यक्ष प्रसारण गर्नुभएको थियो ।

त्यसो त उहाँले यसरी काम गरेको पहिलो पटक हैन । उहाँसँग विगतमा विश्वकप क्रिकेट, आईपीएल, विश्वकप कबड्डी, बहुचर्चित आईफा अवार्डलगायतका विभिन्न इभेन्ट्सको प्रत्यक्ष प्रसारण गरेको अनुभव छ । यही अनुभवका कारण यस पटक पनि डडेल्धुराबाट उहाँलाई दुबई बोलाइएको थियो ।

आईपीएलका लागि भनेर १ सेप्टेम्बरमा उहाँ डडेल्धुराबाट दिल्ली जानुभएको थियो । त्यसपछि दिल्लीबाट ७ सेप्टेम्बरमा उहाँ दुबई पुग्नुभएको थियो । ताज होटलमा क्वरेण्टीनमा बसेपछि उहाँको काम सुरु भयो । जसअनुसार १५ सेप्टेम्बरदेखि १९ सेप्टेम्बरसम्म उहाँले सेटअपको काम सक्नुभयो । सेटअपको काम सकेर आइतबारबाट यूएईको अन्तर्राष्ट्रिय मैदानको पर्दा पछाडि बसेर उहाँले काम गर्नुभयो । केही समयअघि मात्रै भारतको रन्जी ट्रफी र जनवरीमा फिलिपिन्समा भएको ‘सिगेम’ मा समेत हरी पुग्नुभएको थियो ।

डडेल्धुराको अमरगढी नगरपालिका ७ मा २०३३ सालमा जन्मिनुभएका उहाँले स्थानीय उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि २०५६ मा उहाँ भारतको मुम्बई जानुभएको थियो । मध्यम वर्गीय परिवारमा जन्मिनुभएका हरिको उच्च शिक्षा अध्ययनपछि विवाह गर्ने योजना भए पनि बुवाले २०५३ मङ्सिर १० गते विवाह गरिदिनुभएको थियो ।

अभावै अभावमा बाँच्नु भएका उहाँ विवाह गर्दा लागेको ऋण तिर्न सपनाको शहर मुम्बईतिर जानुभएको थियो । ‘बुवाले रहर गरेर मेरो विवाह गरिदिए तर त्यही महिना बुवाको अचानक निधन भयो’, उहाँले भन्नुभयोे, ‘अनि घरमा लागेको ऋण तिर्न भारत गएको थिए ।’

मुम्बईमा उहाँले सोचेजस्तो सहज थिएन काम पाउन । तर कामलाई सम्मान गर्ने हरीले मुम्बईको एक निजी कार्यालयमा काम पाउनुभयो । काम थियो चिया पकाउने र क्याबिनसम्म पुर्‍याउने । ‘पकाएको भाडा र गिलासहरु सफा पनि गर्थेँ’, उहाँले विगत सम्झिँदै भन्नुभयो । त्यसपछि उहाँले स–साना शुटिङ गर्ने कम्पनीसँग जोडिने अवसर पाउनुभयो । अनि चिया पकाउने काम छोडेर नयाँ कामतिर लाग्नुभयो तर विना तलब काम सिक्न पाउने शर्तमा ।

‘त्यतिबेला जब पाँच महिनासम्म राम्रो काम सिकेँ, त्यसपछि बल्ल कम्पनीको तलब सुरु भयो’, उहाँले भन्नुभयो, ‘काम चाहिँ प्राविधिक रुपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरु मिलाउने ।’ त्यही अवधिमा अडियो–भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तीर्ण गरेको हरीले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार