टोकियो ओलम्पिकमा नेपालकी गौरिकाको प्रतिस्पर्धा आज

काठमाडौँ / जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

मंगलबारका खेल सकिँदा अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा उक्लिएको हो । जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् ।

अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ ।

यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । दक्षिण कोरिया तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित छैटौँ, अस्ट्रेलिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौँ, क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य जित्दै आठौँ, फ्रान्स दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ नवौँ तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको छ ।टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

पौडीकी गौरिकाको प्रतिस्पर्धा आज

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समयानुसार अपराह्न ३:४५ बजे हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिकासँगै हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।bगौरिका १३ औँ सागकी स्वर्ण विजेता हुन् । उनी राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छिन् ।

नेपालबाट यस ओलम्पिकमा सहभागिता जनाएका पाँच खेलाडीमध्ये तीन जना प्रतिस्पर्धाबाट बाहिरिएका छन् । हिजो पुरुषको १०० मिटर फ्रिस्टाइलमा नेपालका एलेक्स शाहले नयाँ कीर्तिमान राखे पनि ओलम्पिकको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार