छोरा पाएपछि ऋचा लेख्छिन्, ‘म जत्तिको धनी मान्छे कोही छैन झैं लागिरहेको छ’

नायिका एवं निर्मात्री ऋचा शर्मा बुधबार आमा बनिन् । उनले पहिलो सन्तानको रुपमा छोरा आभ्यान विक्रम राणलाई जन्म दिएकी हुन् । पहिलो पटक आमा बन्दा कस्तो महसुश भयो त ? बिहिबार ऋचाले आफ्नो फेसबुक मार्फत श्रीमान दिपेक्षा राणा र छोराको फोटो फेसबुकमा राख्दै आफ्ना भाव पोखेकी छिन् ।

आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिएँ । यो ९ महिनाको मनोवाद सबै पोख्छु भनेर सोचिरहेको थिएँ । तर आज शब्दको अभाव महशुस भइरहेको छ । भावनालाई कसरी बुनुम भइरहेको छ । हिजोसम्म आफैं केटा केटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ । सोच्दा पनि पृथ्वी बोके झैं लाग्छ । आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् ।

उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तीको महत्वपूणर् र न्यानो चरित्र सायद मैंले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ । जीवनमा आजसम्म के कति कमाएँ लेखा-जोखा छैन्, तर आमा झैं माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी । आज सन्तानको आगमनसँगै म जत्तिको धनी मान्छे कोही छैन झैं लागिरहेको छ ।

बाटो लामो छ । एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब । यो यात्रामा तपाईहरु सम्पूणर् शुभ चिन्तकहरुको सधैं झैं माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु । छोरा आभ्यान बिक्रम राणाका तपाइहरु सम्पूणर्लाई न्यानो माया।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार