उपचार नपाउँदा जिउँदो ला’श 

सरकारको नारा छ – उपचार अभावमा कोही नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस्।झापाको अर्जुनधाराका एक युवाको अवस्थाले भने सरकारको यो नारालाई निकै गिज्याइरहेको छ। उनी उपचार अभावमा जिउँदो लाश बनेर छटपटाइरहेका छन्।

उनका बुवा छोराको उपचार होला कि भनेर सहयोगको याचना गरिरहेका छन्।देशमा संघीय, प्रदेश र स्थानीय गरी तीन वटा सरकार हुँदा पनि सर्वसाधारणले उपचार समेत नपाउनु बिडन्बना नै बनेको छ।अर्जुनधारा नगरपालिका वडा नम्बर ६ लक्ष्मीपुरका २४ वर्षीय गोपी बस्नेत उपचार अभावमा एक वर्षदेखि छटपटाइरहेका हुन्।

उपचार गराउन नसक्ने नागरिकका लागि विभिन्न सरकारी अस्पताल छँदैछन्। निजी अस्पतालहरूमा पनि यस्ता नागरिकको उपचारका लागि नि:शुल्क उपचारको परिकल्पना राज्यले गरेको छ।तर, यी युवाको उपचार नहुँदा शरीर कुहिन थालेको छ।उनका बुवा बलबहादुर छोराको यो अवस्था देखेर इन्तु न चिन्तु छन्। अस्पतालले भनेको तीन लाख रुपैयाँ जुटाउन नसकेपछि बस्नेतले सबैसँग हारगुहार गरे। तर, हेर्दाहेर्दै छोराको शरीर कुहिन थालेको छ।

उनको कम्मरभन्दा मुनिको भागमा घाउ नै घाउ छन्। खुट्टा सुकेर सिन्काजस्ता भएका छन्। कम्मरमुनिको मासुको भाग विस्तारै झर्दै गएको छ।गोपी यातायात मजदुर हुन्। उनी सार्वजनिक यात्रुबाहक बसमा सहचालकको रुपमा काम गर्थे। उनको आम्दानीले घरको गर्जो नटरेपछि बुवाको सल्लाहमा डेढ वर्षअघि भारतको बेङ्लोरमा रोजगारीका लागि गएका थिए।

कोरोना महामारीका बेला बेङ्लोरमा भएको लकडाउनले रोजगारी खोसिएपछि ६ महिना उनी बेङ्लोरका सडकमा भोकै हुन पुगे। झरी, बादल, हावा हुण्डरीका बेला पनि उनी खुल्ला सडकमा रात-दिन बिताउँथे। बुटुवाले दिएको पानी र केही खानेकुराले उनको जीवन बचेको थियो।एक दिन उनका साथीले सडकमा गोपीको अवस्था देखे। शारीरिक रुपमा अशक्त देखेपछि साथीले नेपालसम्म ल्याउन पहल गरे।अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को माता मन्दिरमा उनका साथीले ल्याएर छोडेको स्थानीय बताउँछन्। उनी त्यतिबेलै सिकिस्त थिए।

रोजगारीका लागि भारत पुगेको छोरो गाउँमा सिकिस्त अवस्थामा फेला परेपछि उनका बुवाले अस्पतालमा उपचारका लागि विर्तामोडको मनमोहन अस्पताल लगेका थिए। बुवाको रित्तो गोजी र भाइको अवस्था देखेपछि दाइले कमाएको करिब एक लाख ५० हजार रुपैयाँ पनि भाइको उपचारमा दिएका थिए।गोपीको त्यहाँ उपचार सम्भव नहुने भन्दै मनमोहन अस्पतालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेपछि उनी थप आर्थिक संकटमा परे।

‘थोरै पैसामा सरकारी अस्पतालमा उपचार हुन्छ भनेर मेची अस्पताल लगेको थिएँ। उक्त अस्पतालले पनि रेफर गरेपछि छोराको उपचार आफ्नो काबुबाहिर गएकाले उनलाई घरमै ल्याएर राखेँ,’ उनले भने, ‘गाउँघरकै अस्पतालमा केही राहत होला कि भनेर छोरालाई लगेको थिएँ। पैसा नभएकाले घरमै ल्याए। सो अस्पतालले गोपीको उपचारका लाख एक लाख ५० हजार रुपैयाँ जोहो गर्न भनेको थियो।’२०१२ सालमा भोजपुरबाट विर्तामोड झरेका बस्नेत अहिलेसम्म बहालमा बस्दै आएका छन्। पहाडबाट मधेस झर्दा उनी रित्तै हात थिए।

उमेर हुञ्जेल पदमबहादुर गिरीको घरमा भान्से काम गरे। ३५ वर्षजति उनले पकाएको भात गिरी परिवारले खायो। ‘उहाँले तेरो केही छैन मेरै घरमा बसेर भात पकाउने काम गर बुढेसकाल लागेपछि घर बनाउने जग्गा दिन्छु भन्नुभयो,’ उनले भने, ‘तर केही पाइनँ।’गोपी ओछ्यानको ओछ्यान भएको एक वर्ष भयो। उनका शरीरका विभिन्न भागमा घाउ छन्। उनको घाउ गन्हाउन थालेको छ। उनका बुवा भन्छन्, ‘डाक्टरले टिभी रोगको औषधि खानु भनेर पठाइदियो। विराटनगरको कोसी प्रादेशिक अस्पताल र शनिश्चरेको प्राथमिक स्वाथ्य केन्द्रको औषधि खाँदा पनि रोग बीसको उन्नाइस भएन।’

उनका घरधनीले पनि आर्थिक अवस्था दयनीय भएको देखेर घरको भाडा समेत लिएका छैनन्।स्थानीय हरि कोइरालाका अनुसार गोपीको उपचारका लागि यसअघि पहल भएको हो। तर, निमुखा र विपन्न वर्गको अगुवाई गरिदिने सामाजिक अगुवा नभइदिएकाले गोपीले उपचार पाउन सकेनन्।बेलैमा उपचार भए गोपी निको होलान् कि भन्ने आश वृद्ध बुवाको छ।गोपी बोल्न सक्दैनन्। शरीरका अंग चलाउँदै इसारा गर्छन्।(सेतो पाटी बाट )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार