अभिनेता सोनुको घरमा आयकर विभागको सर्वे अपरेशन, २० करोड कर छली गरेको खुलासा

काठमाडौं । बलिउड अभिनेता सोनु सूदको घरमा पछिल्लो तीन दिनदेखि आयकर विभागको सर्वे अपरेशन जारी छ । शनिबार आज पनि अभिनेता सोनुको घरमा आईटी टिमको सर्वे जारी रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

आईटी विभागका अधिकारीहरुले अभिनेता सोनु सूदसँग जोडिएका विभिन्न स्थानमा छानविन गरी २० करोडको ट्याक्स चोरी (कर छली) गरेको खुलासा गरेका छन् । त्यस्तै अभिनेता सोनु सूदले २.१ करोड विदेशी दान, ६५ करोड फर्जी लेनदेन र जयपुरस्थित एक इन्फ्रा फर्मसँग मिलेर १७५ करोडको सर्कुलर लेनदेन गरेको आईटी विभागको दाबी छ ।

शनिबार आज मात्रै इन्कम ट्याक्स डपार्टमेन्टले अभिनेता सोनुले २० करोडको ट्याक्स चोरी (कर छली) गरेको खुलासा गरेको हो । विभागका अनुसार अभिनेता सोनुले सञ्चालन गरेको च्यारिटी फाउन्डेशन र एनजीओले २.१ करोड भारु विदेशी चन्दा अवैध रुपमा हाँसिल गरेको छ ।

आईटी विभागले मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली र गुरुग्रामलगायत २८ ठाउँमा सर्च अपरेशन गरेको छ । आईटी अधिकारीहरुले अभिनेता सोनुले फर्जी संस्थाहरुबाट फर्जी र असुरक्षित लोनको रुपमा बेहिसाब रकम जम्मा गरेको आरोप लगाएका छन् ।

सन् २०२० जुलाईमा अभिनेता सोनुले च्यारिटी फाउन्डेशन स्थापना गरेका थिए । आईटी विभागका अनुसार अभिनेता सोनुको उक्त एनजीओले १ अप्रिल २०२१ सम्ममा १८.९४ करोड डोनेशन पाएको छ ।

उक्त रकममध्ये १.९ करोड विभिन्न काममा खर्च गरिएको छ, भने बाँकी १७ करोड अझैं पनि एनजीओको बैंक अकाउन्टमै रहेको विभागले जनाएको छ । त्यस्तै एफसीआरएको नियमको उल्लंघन गर्दै सोनुको उक्त एनजीओले विदेशी डोनर्सबाट २.१ करोड रकम जुटाएको विभागले जनाएको छ ।

त्यस्तै विभागले लखनउको एक इन्फ्रास्ट्रक्चर ग्रुपसँग जोडिएको अलग–अलग ठाउँमा पनि छापा मारेको छ, जहाँ यस ग्रुपले अभिनेता सोनुसँग मिलेर नक्कल बिलिङ र ६५ करोडको नक्कली कन्ट्र्याक गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार