पाइला–पाइलामा लुटिन्छन् फर्किने नेपाली

बेरोेजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ।  

डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे। ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम तिरेँ। तर, केही सजिलो भएन’ विकले भने, ‘झन् तीन दिनमा मात्रै बोर्डर पुर्‍यायो। तीन महिनामा जोगाएर ल्याएको रकम बाटोमै सकिन थाल्यो।’

पञ्जाबबाट रोडवेज गाडीको भाडा गौरीफन्टा सीमासम्म ८ सय भारु छ। नेपाली १ हजार २ सय ८० रुपैयाँ हो। धनगढीबाट दीपायलसम्म बस चढ्दा ६ सय ५० रुपैयाँ तिर्नुपर्छ। आफैं टिकट काटेर गन्तव्य गए कुल १ हजार ९ सय ३० रुपैयाँ खर्च हुन्छ। ‘बोर्डरसम्म नेपाली ५ हजार नाघ्यो’, केआई सिंह गाउँपालिकाकै वडा नम्बर १ का गोपाल औजीले भने। 

भारतको लधियानाबाट डोटीको डुमराकोट जान लागेको औजीले सुनाए। ‘हामीलाई छिटो हुन्छ भने। दसैंका बेला भएकाले आएकै दिन धनगढीबाट पनि दीपायलको गाडी पाउँदैन। एकमुस्ट टिकट काट्यो भने धनगढी पुग्नेबित्तिकै दीपायल हिँड्ने भने’, उनले भने, ‘तर, तीन दिन भयो बल्ल गौरीफन्टा नाकामा आइपुगेका छौं।’

पञ्जाबबाट बेलुकी हिँडेको बस अर्को दिन बिहान गौरीफन्टा पुगिहाल्छ। तर, कैलालीसँग सिमाना जोडिएको लखिमपुरमा किसान आन्दोलनमा झडप हुँदा आठ जनाको ज्यान गएपछि सवारी साधन बाटोमै रोकिएका कारण तीन दिन लागेको हो। यो यात्रामा नेपाली मजदुरहरू नेपालीबाटै महँगो टिकटबाट ठगिइरहेका छन्। डोटीकै बोगटानका बलराम क्षेत्रीले दुई झोला सामान बढी भएकाले पञ्जाबबाट दीपायलका लागि २ हजार ५ सय भारु (नेरु ४ हजार) तिरेको सुनाए। 

गाडी भाडामा चर्को असुली त भयो नै, सीमा नाकामा उस्तै ठगी हुन्छ। गौरीफन्टा नाकामा भारतीय बसबाट झरेपछि नेपालतिर अटो रिक्सा वा नगर बस पक्रनेसम्मको दूरी २ सय मिटर छ। त्यो बीचमा भारतीय भन्सार कार्यालय, भारतीय प्रहरी चौकी, दुधवा नेसनल पार्कको कार्यालय र एसएसबीको बिट छन्। जहाँ एक नेपाली कम्तीमा ५ सय भारु अनावश्यक रूपमा तिर्न बाध्य हुन्छन्। एसएसबीबाहेक दुधवा नेसनल पार्क, भारतीय प्रहरी र सबैभन्दा बढी भन्सारका कर्मचारीले हरेक नेपाली मजदुरबाट रकम असुल्ने गरेका छन्।

‘यसको कुनै हिसाब हुँदैन। उनीहरू सामानको पोका हेरेर रकम लिन्छन्। सानो पोका र झोलाहरू छन् भने सय÷दुई सय, ठूलो पोका छन् भने पाँच सय पनि’, सीमा नाकामा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘हामीले टुलुटुलु हेर्नुको विकल्प छैन। यो रोक्ने दायित्व सरकारको हो।’

अछामको जयगढका हरिराम सार्कीले नाकामै ६ सय खर्च भएको बताए। ‘दुइटा झोला, घरका लागि केही लुगा कपडा थिए। भारतीय सुरक्षा एजेन्सीमा ६ सय रुपैयाँ तिरेर आएँ’, उनले भने, ‘लठ्ठी समातेर बसेका हुन्छन्, रकम दिएन भने सामान खोल भन्छन्। सामान बोक्ने कि खोल्ने भन्ने हतार हुन्छ। त्यसैले रकम दिनुको विकल्प छैन।’ त्यसपछि पनि नेपाली मजदुरमाथिको क्रुरता सकिँदैन। नेपालतिर अटो र नगर बसले चर्को भाडा असुल्छन्। भारतको बसपार्कमा सामान झारेका नेपालीलाई वारि ल्याई दिएबापत मात्रै २–३ सय भारु असुल्छन्। 

अटो र ई–रिक्सा चालकले मनपरी रकम लिन थालेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले नेपालतिरका अटो र रिक्सा चालकलाई भारतको बसपार्कसम्म जान रोकेका छन्। ‘उनीहरूले मनपरी भाडा लिने गरेका कारण केही दिनदेखि भारतको बसपार्कसम्म जान रोकिदिन भारतीय सुरक्षा एजेन्सीलाई आग्रह गरेका छौं’, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने। त्यसपछि वारि सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि दसैंका बेला चियापानी भन्दै रकम लिने गरेको पीडित सुनाउँछन्। एक यात्रुले भने, ‘चियापानी दिनुपर्‍यो भनेपछि नेपाली ५०÷१०० रुपैयाँ दियौं। भारतकाले त लुट्छन् भने हाम्रा दाजुभाइले पनि चियापानी खाउन भनेर दिएको नि !’

दसैं, तिहार वा नयाँ वर्ष मनाउन स्वदेश फर्किने नेपालीसँग भारतको भन्सारका कर्मचारीले असुल्ने गरेको जनाइएको छ। विगतमा भारतबाट फर्किने नेपालीलाई नाकामा लाम लगाएरै रकम लिने गर्थे। हिजोआज सीसी क्यामेरा भएकाले उनीहरूले त्यसलाई छलेर रकम लिने गरेको जनाइएको छ।(पूरा खबर अन्नपूर्ण पोस्टमा छ )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार