यी हुन २५ लाख तिर्न नसक्दा दस वर्षदेखि साउदीमा अड्किएका दामोदर

सँगै परदेश हिँडेका साथी कमाएर घर फर्किए। कोही फेरि विदेशिए, कोही यतै इलम गर्दैछन्। तर दस वर्षअघि साउदी अरब पुगेका दामोदर क्षेत्री अहिलेसम्म फर्किएका छैनन्।

बुटवलका दामोदर २०६८ सालमा यातायात कम्पनीमा सवारी चालक कामका लागि भनेर साउदी पुगेका थिए। विगत दस वर्षदेखि त्यहीँ अड्किएका उनले न कमाएका छन्, न फर्किएर आफ्नो परिवारसँग बस्न पाएका।परिवारका फोटा हेर्दाहेर्दै दशक बित्यो। ३७ वर्षमा विदेशिएका उनी ४७ वर्ष पुगिसके। सानै छाडेर गएका छोराछोरी हुर्किए। समय कुदिरह्यो, तर उनी फर्किने मौका अहिलेसम्म आएन।

‘म यता आउँदा छोरी सानै थिई। अहिले त बिहे भइसक्यो,’ दामोदरले सेतोपाटीसँग मेसेन्जर कल कुराकानीमा भने, ‘छोरो सात वर्षको थियो, अहिले १२ कक्षाको पढाइ सकिसकेँ भन्छ।’उनका छोराले फोनमा गुनासो गरिरहेका हुन्छन्, ‘कलेजमा पैसा तिर्न नसकेर सर्टिफिकेट निकाल्न सकिएको छैन।’

हरेक दिन परदेशमा बसेर परिवारको गुनासो सुन्दै चुपचाप बस्नुको विकल्पै छैन उनीसँग। उनी रहरले नफर्केका होइनन्। न कमाइ हुने आशले अडिएका हुन्। उनी त परदेशमा पैसा नभएर अड्किएका हुन्। उनले ७९ हजार साउदी रियाल अर्थात् करिब २५ लाख रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने छ।

‘यत्रो पैसा कहाँबाट जुटाऊँ? पैसा नभएकै कारण म जेलबाट निस्किएको एक वर्ष हुन लाग्दा पनि देश फर्किन पाएको छैन। साथीहरूसँग बसिरहेको छु,’ चार वर्ष जेल जीवन बिताएर निस्किएका दामोदरले भने।

उनी नौ महिनाअघि साउदीस्थित जेलबाट निस्किएका हुन्। तर क्षतिपूर्ति नतिरेसम्म स्वदेश फर्किन पाउने छैनन्।कमाउन साउदी गएका दामोदर कसरी परे त जेल? त्यति धेरै क्षतिपूर्ति कसरी तिर्नुपर्ने भयो?दामोदरका अनुसार उनी सवारी चालक काम गर्ने भनेर साउदी पुगे। उनले म्यानपावरलाई ९० हजार रूपैयाँ थमाएका थिए। म्यानपावरले झुक्याएछ।

‘गाडी चलाउन भनेर आएको, लेबर पो गर्न लगायो,’ उनले सुनाए, ‘मैले यो काम गर्दिनँ भनेँ। कम्पनीले भिसा परिवर्तन गरेर ड्राइभिङ गर्न सकिने बतायो। तर त्यसका लागि २५ सय रियाल (झन्डै ८० हजार रूपैयाँ) लाग्ने भन्यो।’साउदी जान उनले नेपालगन्ज जिरो भन्ने ठाउँको झन्डै दुई कठ्ठा जमिन १८ हजार रूपैयाँमा बेचेका थिए। त्यो पैसा र केही ऋण जोहो गरेर गएका उनले ८० हजार तिरेर कसरी भिसा परिवर्तन गर्न सक्नु?

केही सीप चलेन। जसोतसो सोही कम्पनीमा छ महिना मजदुरी गरे। त्यसपछि कम्पनीबाट भागे। भागेपछि दामोदरको त्रासपूर्ण जीवन सुरू भयो।’प्रहरीले समातेर जेल कोच्ने हो कि भन्ने डर हुन्थ्यो। केही समयपछि क्याम्पभित्र काम पाइयो,’ दामोदर आफ्नो कथा सुनाउँछन्।

त्यहाँ उनले बालुवा बोक्ने दस चक्के गाडी चलाउने काम पाए। भित्रभित्र निर्माण क्षेत्र वरिपरि पाँचदेखि छ किलोमिटरसम्म बालुवा ओसार्नुपर्थ्यो। गाडी चलाउन गति तोकिएको थियो, बीस किलोमिटर प्रतिघन्टाभन्दा बढी नपाइने। त्यसो हुँदा सहजैसँग उनले काम गरिरहेका थिए। कामकै क्रममा मुख्य सडकमा निस्किनु पर्दा भने डर हुन्थ्यो। जाने र फर्किने बेला प्रहरीको फन्दामा परिने हो कि भन्ने चिन्ता सधैं।

त्यहाँ उनले अवैध रूपमा काम गरे पनि राम्रै कमाउँथे। खानासहित दुई हजार साउदी रियाल अर्थात् ६० हजार रूपैयाँ भन्दा बढी। दामोदरले जोगिँदै-बच्दै झन्डै साढे दुई वर्ष अवैध हैसियतमै रहेर काम गरे। त्यसपछि त्यहाँका साहुले उनीहरूलाई अवैध रूपमा काम नगर्न सुझाए।’बरू कम्पनीमा कफला प्रणाली अन्तर्गत काम गर। यसपछि डर हुँदैन, ढुक्कले गर्न पाइन्छ भनेपछि म राजी भएँ,’ दामोदरले भने।

कफला भनेको खाडी मुलुकमा आप्रवासी श्रमिकहरू रोजगारदाताको मातहतमा रहेर काम गर्ने प्रणाली हो। यो प्रणालीमा रहेर काम गर्दा श्रमिकको कागजात रोजगारदाताको नियन्त्रणमा रहन्छ। रोजगारदाताले एक्जिट भिसा उपलब्ध गराएपछि मात्रै स्वदेश फर्कन सक्छन्।दामोदरले पनि यसै गरे। साउदी जुबेलस्थित हमदसाउद हलहाजिरी कम्पनीमा कफलामा काम गर्न थालेपछि खानाबाहेक दुई हजार रियाल तलब दियो। उनले कमाएर श्रीमतीलाई बेलाबेला पैसा पठाइरहेका थिए।(सेतो पाटी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार