अधुरै रह्यो बुवालाई अर्को ‘सरप्राइज’ दिने सञ्जुको सपना

२०७६ को मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारोत्तोलनमा जितेको पहिलो स्वर्ण विशेष थियो।

सागको ३५ वर्षको इतिहासमा नेपालका लागि महिला खेलाडीले भारोत्तोलनमा पहिलो स्वर्ण जित्दै इतिहास रचेकी थिइन्। नेपालगञ्जकी सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।

पोखराको भएको प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण जितेपछि उनले सबैभन्दा पहिला भेरी अञ्चल अस्पतालमा काम गर्ने आफ्ना बुबालाई फोन गरेर खुसी साटेकी थिइन्। सुरूमा उनका बुबाले छोरीले स्वर्ण जितेको पत्याएका थिएनन्।

साँच्चिकै गोल्ड मेडल आयो त?,’ बुवाले सोधेका थिए।

सञ्जुले दंग पर्दै दोहोर्‍याएकी थिइन्- साँच्चै हो के बुवा।

बुवाले भनेका थिए, ‘ल ल अझै राम्रो गर्दै जाऊ।’

बुवाले भनेझैं सञ्जुले सागपछि पटक-पटक राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। नेपाली भारोत्तोलमा उत्कृष्ट खेलाडीको उपमा पाएकी उनीबाट एसियाली खेलकुदमा पदकको आसा गरिएको थियो।

उनी चीनमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएकी थिइन्। त्यसकै तयारीमा रहेकी सञ्जु एसियाली खेलकुदमा पदक जित्दै बुबालाई अर्को ‘सरप्राइज’ दिने योजनामा थिइन्।यो योजना अब पूरा नहुने भएको छ। सञ्जुले मंगलबार संसार छाडेकी छन्। नेपाली भारोत्तोलनकी उदयीमान खेलाडी सञ्जु मंगलबार बिहान मृत फेला परिन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरको कोठाको सिलिङको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको छ।नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार उनी एसियाली खेलको छनोटको तयारिका लागि प्रशिक्षक महर्जनकै घरमा बसिरहेकी थिइन्।

गत वैशाख १६ गते छनोट भएपछि उनी प्रशिक्षणका लागि सञ्जयसँगै रंगशाला जाने गरेको श्रेष्ठले बताए।‘हिजो लुभुमा जात्रा भएका करण गुरूको घरमा पाहुना बोलाइएका थिए। म पनि गएको थिएँ। अरू साथीहरू पनि आउनुभएको थियो। हामी सबै रमाइरहेकै थियौं। उनले हामीलाई खुवाउन सहयोग पनि गरिरहेकी थिइन्,’ श्रेष्ठले भने, ‘हिजोसम्म हामीले खुसी नै देखेका थियौं।’

साथीहरूलाई भने उनले ख्याल ठट्टामा ‘सुसाइड गर्छु’ भन्ने गरेको आफूले थाहा पाएको श्रेष्ठले बताए।‘साथीहरूलाई ख्याल-ठट्टा गरेरै सुइसाइड गर्छु भनेकी रहिछन्। त्यसरी पहिला पनि ठट्टा गरेको थियो रे। तर अब मजाक मात्रै गरेको जस्तो लागेको थियो,’ श्रेष्ठले भने, ‘साँच्चै नै समस्या नै भएको भनेको भए त हामी गाइडेन्स दिने थियौं।’

सञ्जुको मृ’त्युले नेपाली खेलकुदमा ठूलो क्षति पुगेको श्रेष्ठले बताए।‘हामीले उनीबाट धेरै आसा गरेका थियौं। भारोत्तोलनामा राष्ट्रको खम्बा नै थिइन्। तर दुर्भाग्यवश आज यस्तो घटना भयो। उनका सपनाहरू अधुरै रह्यो,’ श्रेष्ठले भने।

सञ्जुका साथी तथा खेलाडी प्रकाश केसीले पनि सञ्जुले कहिले पनि समस्या देखाउने नगरेको बताए।‘म पनि हिजो त्यहाँ गएको थिएँ। हामी रमाइरहेकै थियौं। उसैले भोज खुवाउनको लागि घरमा सहयोग गरिरहेको थियो। त्यस्तो समस्या केही थियो जस्तोचाहिँ लागेको थिएन,’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार