थाउजेन्ड भाटको थार्ई मसाज

थाई लायन मेन्टरीको एयरक्राफ्ट बोइङ ७३७–९०० आकाशयान डन मुइएङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा मन उत्कण्ठित थियो ।

थाइल्यान्डको उन्मत्त आख्यानको वास्तविकतासँग साक्षात्कार गर्ने उद्भट रहरले झन्डै तीन घण्टे हवाई यात्राको कुनै असर शरीरले महसुस गरेन ।

विमानबाट निस्कँदै गर्दा बैंककको विशाल र आकर्षक डन मुइएङमा तातो घामले आगत स्वागत गर्‍यो । घामले चिल्दा नचिल्दै हामी एउटा सानदार बसमा चढेर अध्यागमनतिर लाग्यौं ।
छिर्‍यौं भित्र । देख्यौं, गज्जबको एयरपोर्ट । सानदार ! विदेशी पर्यटकको लाम ।

प्लेनमै वितरण गरिँदै थियो, प्रवेशाज्ञा फर्म । दिदी, भिनाजु र मित्र श्यामले विमानमै फर्म भरे । मैले चाहिँ कलमको मसी सकिएर पूरा भर्न पाइनँ । पछि लाइनमा उभिएरै भरें ।

६–७ वटा काउन्टर थिए । अहो ! यो ‘अफ सिजन’मा पनि यति धेरै पर्यटक !

२० लाख पर्यटक भित्र्याउने लक्ष्य बोकेको नेपाल स्मृति मानसपटल झुल्कियो । दुःख लाग्यो, नेपालमा प्रवेशाज्ञा लिने पर्यटकको संख्या सम्झेर ।

‘यहाँ त्यस्तो के रहेछ, नेपाल नगएर पर्यटक यही थुप्रिन्छन् ?’ मभित्र आश्चर्यको पहाड उठ्यो ।

झन्डै डेढ घण्टाको लाइन बसाइपछि प्रवेशाज्ञा पाइयो । हामीलाई लिन एउटा भ्यान आएको रहेछ । भ्यान हामीलाई लिएर सिधै पटाया सिटीतिर हुइँक्यायो ।

करिब २ घण्टाको यात्रा । भ्यान रोकियो, बैंककबाट दक्षिणपूर्व १ सय ६५ किलोमिटरको दूरीमा रहेको पटाया सिटीस्थित पटाया हाउस होटल अगाडि ।

हामीसँगै थिए सोमबहादुर गुरुङ, तीनपटक थाइल्यान्ड आउजाउ गरिसकेका दाइ । भ्यानबाट उत्रिएर उनले सल्लाह दिए, ‘ल, मुख्य गन्तव्यमा आइपुगियो । आराम गर्ने र सुत्नेभन्दा पनि घुम्नमै बढी केन्द्रित हुनुहोला । यत्रो खर्च गरेर सुत्न र आराम गर्न तपाईं पक्कै थाइल्यान्ड आउनुभएको होइन ।’

उनी हाँसे ।

उनले पटायामा ‘सबै किसिमको रमाइलो’ गर्न पाइने बताए । भ्यानमा थिए, दिदी अस्मितासहित तीन महिला । त्यसैले उनले ‘रमाइलो’ शब्दका पछाडि शब्द र वाक्यहरू थपेनन् ।

पुग्यौं, मित्र श्याम र म रुम नम्बर ५ सय २ मा । फ्रेस भयौं । र, घुम्न निस्कियौं ।

पटाया त्यति ठूलो लागेन ।

पटायाको आकर्षण बिन्दु रहेछ, समुद्री तट । एकातर्फ रोड छ, अर्कोतिर होटल । दोस्रो सडकमा सपिङ मल । यी सबैको बीचमा रहेछ– वाकिङ स्ट्रिट ।

साँझ सुरु हुँदो रहेछ, रंगीन जीवन । रातभर जगमगाउँदो रहेछ सडक । ग्राहकको व्यग्र प्रतीक्षामा हुँदा रहेछन्– बार, रेस्टुरेन्ट, सो, पुल, डिस्को, मसाज, स्पा… ।

थाइल्यान्ड घुमेकाको मुखबाट फुत्तफुत्त निस्कन्थ्यो, पटाया पटाया कारण बल्ल बुझियो ।

मजाका अनेक रूप । पैसा टक्राएपछि आनन्द हाजिर भइहाल्ने ।

रात बिर्साउँदा रहेछन्, झिलीमिली सडकबत्ती र संगीतमय परिवेशले ।

सडकको सामुद्रिक तट । हरेक पाँच मिटरको दूरीमा युवती । ‘ग्राहक’को खोजीमा चञ्चल आँखा । सडकको अर्कोपट्टि सजधज बार र डिस्को । बार र डिस्को युवतीले भरिभराउ थिए । जता हेरे पनि ‘वान पिस’ लगाएका सुन्दरी ।

गल्लीमा पनि सानदार मसाज सेन्टर । त्यसबाहिर पनि बैंसले उन्मत्त ‘तरुनी’हरू बटुवालाई ‘कम म्यान’ भन्दै डाकिरहेका थिए, चाहे ती बूढा हुन् वा तन्नेरी । ‘बार्गेनिङ’ गर्नेहरू पनि थिए, ‘थाउजेन्ड भाट ओके ?’

वाकिङ स्ट्रिटमा लघारालघार चलिरहेको थियो । सडक पेटीमा सुन्दरीका खुला पसल । त्यो पसलमा थाइल्यान्डसहित इन्डोनेसिया, फिलिपिन्सदेखि रुससम्मका ‘माल’ देखियो, भाटमा साटिने ।

समुद्रको छेउमा बसेर अलिबेर रमिता हेर्ने विचार आयो । पाँच भाट भाडा तिरेर किनारको बालुवामाथि एउटा सुकुल ओछ्याएर बस्यौं । मध्यरातमा बालुवामाथि भाडाको गुन्द्री ओछ्याएर उत्तानो परेर सुतेका अर्धनग्न महिला सामुद्रिक सिरेटोको मजा लुटिरहेका थिए । त्यो देखेर मित्र श्यामले जिब्रो टोके ।

त्यहाँ जतिसुकै अर्हत् पुगे पनि देख्ने र भोग्ने दृश्यहरू त्यही नै थियो । हामी त ठिटा पर्‍यौं । त्यसप्रति चासो लाग्नु अस्वाभाविक थिएन ।

केहीबेर त्यहाँ बसेपछि मित्र श्यामले थाई मसाज गर्ने इच्छा जाहेर गरे । मैले भनें, ‘गएरै बुझौं ।’ बुझियो, त्यहाँ ‘थरीथरी’का मसाज हुँदो रहेछ, ५ सय भाट (थाइल्यान्ड करेन्सी)देखि ३ हजार भाटसम्मको ।

खाना खाइएको थिएन । महेन्द्र भिनाजुको फोन आयो र राति करिब १२ बजेसम्म घुमेर घरतिर लागियो । बाटोमा हामीलाई पनि केही तरुनीले लघेर्न खोजे । तर, हामी मुस्कुराउँदै होटलतिर लाग्यौं ।
होटलमा कल्याङकुलङ थियो । केटाहरू जाँड खाएर झगडा गरे कि जस्तो लागेर हामी बुझ्न गयौं ।

झमेला अर्कै रहेछ । धादिङका माधवजीले २४ वर्ष जतिकी थाई युवतीलाई होटलको रुममा ल्याएका रहेछन् । पछि केटीले अलि बढी पैसा मागिछे । ‘रेट’मा कुरा नमिलेपछि केटीले बबाल गरिछे । त्यसमा पनि युवतीमा रक्तप्रदरको समस्या रहेछ । बेडमा फोहोर भएपछि होटलवालाले पनि गाली गर्ने भइहाल्यो । माधवजी लाजले रातोपिरो हुँदै कुनामा बसेका थिए । होटलवालाले केही पैसा जरिमाना लिएर कुरा मिलाइदिएको थियो ।

अहो ! यो घटना बोद्धव्य थियो । लफडा पनि हुँदो रहेछ है, हामीले थाहा पायौं ।

हामी नेपालीलाई थाइल्यान्डमा दुःखचाहिँ खानाकै हुने । अझ पटायामा त झन् मुस्किल । जुनै खाने कुरा पनि गुलियो । नुनिलो खान इन्डियन रेस्टुरेन्ट जानुपर्ने । त्यहाँ पनि हामीले खोजेको स्वाद पाउन मुस्किल । एउटा रेस्टुरेन्टमा हरहर बास्ना छर्दै सेकुवा पोलेको देखियो । दुई सय भाटको किन्यौं । मुखमा हाल्दा झन्डै उल्टी भयो, कस्तो गुलियो । सबै खेर फाल्नुपर्‍यो ।

एउटा इन्डियन रेस्टुरेन्टमा खाना खाइसकेपछि मित्र श्यामले फेरि बीचतिर घुम्न जाने इच्छा प्रकट गरे । हामी एउटा भाडाको बाइकमा बसेर गल्लीगल्ली घुम्यौं । सबैतिर उस्तै रंगीन माहोल थियो, युवतीमय ।

सडकमा निकै सुन्दरी युवती देख्यौं । मैले सोचें– पक्कै पर्यटक हुनुपर्छ । तर, नजिकै पुगेपछि मेरो कन्फ्युजन खारेज गर्दै उनी बोलिन्, ‘डु यु वान्ट टु गो विथ मि, यु जस्ट पे थ्रि थाउजेन्ड भाट ।’
लौ ! यहाँ त ‘जुन जोगी आए पनि कानै चिरेको’ पो भेटियो ।

धादिङका उनै माधवजी त्यहाँ आइपुगे । अहिले उनी अलि फ्रेस देखिए । ‘हेनकेन खाइयो ३/४ क्यान, मुड फ्रेस,’ हामीले प्रश्न नसोध्दै उनले भने, ‘विदेशमा आएर अलिअलि लफडा भएन भने यात्रा कसरी अविस्मरणीय हुन्छ ?’

यस्तो मामिलामा उनी अलि फरवार्ड रहेछन् । कहिलेकाहीँ मात्रै हो फस्ने त । तैपनि, नचेत्ने खालका रहेछन् ।

‘साथीहरू म डिल गर्छु ल ?’ उनी अघि बढे । हामीलाई बार्गेनिङ गर्नु थिएन तर उनी र युवतीबीचको सवालजवाफको रमिते बन्ने बिछट्टै इच्छा थियो ।

उनले सोधे, ‘हाउ मच ?’

केटीले लगत्तै उत्तर दिई, ‘थ्री थाउजेन्ड ।’

माधवजी पेटाहा थिएनन् । मनका कुरा खुलस्त भन्ने स्वाभावका रहेछन् । उनले हामीतिर हेरेर हाँस्दै सोधे, ‘लाने हो ?’ उनले परिभाव्य कुरा गरे ।

म लाजले भुतुक्कै भएँ । तर, मैले उत्तर फर्काएँ, ‘हैट हुन्न ।’

हामी अघि बढ्यौं । माधवजी पछिपछि आए ।

थाइल्यान्ड आएर मसाज र स्पा गराएन भने यात्रा अधुरो हुन्छ भन्ने सुनेको थिएँ त्यसैले बरु मसाजमा जाने विचार थियो । माधवजी मसाज गर्न जाऔं भन्दै अघि लागे । मनमा इच्छाको उत्तालले उचाइ लियो ।

माधवजीले ३–४ वटा मसाज सेन्टर डुलाए । मसाज सेन्टरभित्र चलचित्र हलमा जस्तै १०–१५ जना युवती बस्दा रहेछन् । करिब २२– ४० वर्षका । यद्यपि, लाइट, पहिरन र मेकअपका कारण ती सबै २०–२५ वर्षका जस्ता देखिन्थे । तीमध्ये जुन मनपर्छ, उसैलाई चोर औंला देखाउने र मसाज गराउने ।

माधवजीले ‘फुल बडी’ मसाज गराए । मैले र श्यामजीले फुट मसाज गरायौं । निकै आनन्द आयो ।

वास्तवमा थाइल्यान्ड पुगेर मसाज गराइएन भने यात्रा अधुरो नै हुने रहेछ । थाई मसाज पुरै दुनियाँमा उपचार शक्तिका रूपमा प्रख्यात छ । यो चीन र भारतको परम्परागत चिकित्सा प्रणाली र योगबाट प्रभावित छ । पुरै शरीर मालिस गराउन मन लागेन भने आधा घण्टा भए पनि फुट मसाज, हेड मसाज र ब्याक मसाजमध्ये कुनै एक गराएर अनुभव लिन सकिन्छ ।

श्यामजी र मेरो गरी एक हजार भाट मैले तिरें । त्यहाँ मसाजमा ठगिने सम्भावना नहुँदो रहेछ । निकै व्यावसायिक हुँदा रहेछन् । जति पैसा भनेको छ, त्योभन्दा एक भाट बढी नलिने, बढी दिएमा फिर्ता गरिदिने ।

हाम्रो मसाज आधा घण्टामा सकियो । २ घण्टापछि निस्किएका माधवजीले २ हजार भाट तिरे ।

‘के गर्नुभो मित्र ?’ श्यामजीले सोधे ।

मुसुक्क हाँस्दै उनले भने, ‘सबै गरियो ।’

‘पुरै शरीरको मसाज गरियो भन्या त होला नि !’ मैले आफ्नै पाराले बुझें । जे होस्, बाहिरै बसेर–सुतेर मसाज गराउँदा पाँच सय भाटसम्म हुने रहेछ तर गोप्य कोठातिर गएपछि २ हजार भाट तिर्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाइयो ।

माधवजी निकै रमाइला मान्छे । उनले सडकका युवती पसलदेखि भीआईपी मसाज सेन्टरसम्मको मजा लुटे ।

भोलिपल्ट बिहानैदेखि हामीले समुद्र र आइल्यान्डलाई भ्रमण केन्द्र बनायौं । निकै ठूलो वाटर पार्कमा प्यारासाइलिङदेखि कुरल आइल्यान्डमा अन्डर वाटरसम्म गरियो । २ हजार भाट तिरेपछि समुद्रमाथि प्यारासाइलिङ, समद्रमुनि अन्डर वाटर, बोटिङ र स्विमिङ गर्न पाइँदो रहेछ ।

त्यसपछि हामी बैंककतिर लाग्यौं । हामी बैंकको राचथेवीस्थित होटेल प्राटुनममा बस्यौं । अब बैंककको रमाइलो अनुभव गर्नु थियो । हामी साँझमा बैंकक घुम्न निस्कियौं ।

आहा ! बैंकको दुनियाँ पनि उस्तै रंगीन । राति अरू के देखिनु, उही पटायाजस्तै । त्यही धन्दा, बरु अलि फरक । बैंककलाई त्यसै ‘सेक्सको राजधानी’ भनिएको होइन रहेछ ।

बैंककमा कैयौं रेडलाइट एरिया रहेछन् । थाइल्यान्डमा झन्डै ३ मिलियन सेक्स वकर्स रहेको तथ्यांक पढ्दा विश्वास लाग्दैनथ्यो । तर, त्यहाँको सडक, रेस्टुरेन्ट, बार र डिस्कोमा छ्यासछ्यास्ती युवती देखेपछि विश्वास भयो, बैंकक त बबाल पो रहेछ ।

समय पनि त्यस्तै, त्यसमाथि हामी दुई लक्का जवान । हामीलाई ठिटो देखेर हुनुपर्छ ‘टुकटुक’वालाले घुमाउन पनि रेडलाइट एरियातिरै लग्यो ।

मसाज र रोड बार्गेनिङ त्यहाँ पनि उस्तै पाइयो । जो कोहीलाई पनि लोभ्याउने नाइट लाइफ । सात दशकभन्दा बढी समयदेखि थाइल्यान्डमा याैन व्यवसाय वृत्ति गैरकानुनी रूपमा सञ्चालित रहेछ । तैपनि, बैंककसहितका ठूला सहर सेक्स टुरिजमको हब मानिन्छन् । रात रंगिएकै छ, लुट्ने र लुटाउने धन्दा चलिरहेकै छ ।

नेपालमा भन्दा पनि पछि सुरु भएको थाइल्यान्डको पर्यटन उद्योगले अहिले ३ करोड ४० लाख बढी पर्यटक वार्षिक रूपमा भित्र्याएको त्यसै होइन रहेछ ।

हामीसँगै गएकामध्ये केही केटाले यौन पर्यटनको राम्रोसँग प्रवद्र्धन गरिदिए । हामीले थाहा पायौं । पटायाको तुलनामा अलि महँगो हो कि जस्तो लाग्यो । त्यहाँ पनि उत्तिकै मसाज सेन्टर, उत्ति नै सुन्दरी । सुरुमा झट्ट देखिने यिनै कुरा न हुन् ।

नेपालमा हुँदा जुँगा र कपाल पालेको भन्दै कतिपयले ‘वैरागी’को संज्ञा दिएका थिए । ‘दामी देखिएको छ’ भन्ने पनि नभएका होइनन् । तर, यसपटक ‘वैरागी’को संज्ञा दिनेहरूलाई सम्बोधन गर्न मन लाग्यो । नेपालमा हुर्काएको दाह्री, जुँगा र कपाल बैंककमा विसर्जन गर्ने सोच आयो ।

‘ठीकै हो, लुक्स पनि चेन्ज हुने,’ श्यामजीले बल दिए, ‘काट्नुहोस् ।’

एउटा सैलुनमा गइयो । दाह्री र कपाल काट्ने पनि युवती ! अलि अप्ठ्यारो लाग्यो । तर, मनलाई बुझाएँ, यिनीहरूलाई अप्ठ्यारो लाग्दैन भने मलाई चाहिँ बाल ? डेढ घण्टा लगाएर दाह्री र कपाल कटाएँ । लुक्स चेन्ज ।

त्यसबाहेक किनमेलका लागि बैंकक निकै सस्तो रहेछ । खासगरी ‘थाइल्यान्ड मेड’ कपडा नेपालको तुलनामा आधाभन्दा बढी सस्तोमा पाइँदो रहेछ । पटायाको मसाज रस भुल्न नसकेका मित्र श्यामले बैंककमा पनि मसाज गराए । मैले चाहिँ डिस्को गएर मजा लिएँ । कतिपय डिस्कोमा रात छिप्पिँदै जाँदा युवतीका वस्त्र पनि खस्दै जाँदो रहेछ । मध्य रातमा युवती ‘९० डिग्री’मा देखिने । त्यस्तो छ भनेर थाहा पाएर डिस्को गएको होइन । त्यहाँ गएपछि यस्ता कुरा पनि थाहा पाइयो ।

घुमघामका लागि ग्रान्ड रोयल प्यालेसदेखि विभिन्न गुम्बा, संग्रहालय आदि बैंककमा आकर्षणका केन्द्र हुन् ।

सडक पूर्वाधारको हिसाबले बैंकक लोभलाग्दो लाग्यो । म करिब डेढ वर्ष इजरायल बसेर पढेको थिएँ । त्यस क्रममा मैले इजरालयको मुख्य सहर भ्रमण गरें । तर, बैंककमा देखेको विकसित सडक पूर्वाधार नै बढी आकर्षक र अनुकरणीय पाएँ । फराकिलो सडक, प्रायः वान वे, व्यवस्थित र चुस्त सडक बत्ती, चोक चोकमा फ्लाई ओभर, मोनो रेल आहा ! एक हप्ता बस्दा जामको अनुभव गर्न पाइएन ।

त्यसपछि हामी फुकेट गयौं । थाइल्यान्ड पुगेर फुकेट नछुटाएमात्रै यात्रा पूर्ण हुन्छ । आइल्यान्ड नै आइल्याण्ड बोकेर बसेको फुकेट निकै सुन्दर र रमणीय छ ।

फर्किने बेला बैंककमै किनमेल गरियो । एकजना मित्रले एमबीके मार्केटमा ब्रान्डेड माल सस्तोमा पाइने सुनाए । उनको विश्वासमा एमबीकेमा गएर केही कपडा र साथीहरूलाई थाइल्यान्डको उपहार किनियो । पछि होटलमा आउँदा पो थाहा पाइयो, एमबीके त हाम्रो विशाल बजार भनेजस्तै रहेछ, अचाक्ली महँगो । हामीले चाहिँ सबैभन्दा सस्तो नै यही रहेछ भन्दै किनमेल गरेका थियौं ।

हामीले त्यहाँ सपिङ गरेको पैसाको आधा पैसाले बाहिर त्यही सामान उत्ति नै परिमाणमा किन्न सकिने कुरा पछि मात्रै थाहा पाइयो । त्यही पनि ब्रान्डेड सामान भनेर चित्त बुझाइयो ।

डन मुइएङले हामीलाई बिदाइ गर्न पर्खिरहेको थियो । मसँग एउटा लगेज र एउटा ह्यान्ड क्यारी ब्याग थियो । श्यामजीसँग पनि लगेज र ह्यान्ड क्यारी नै थियो । दिदी भिनाजुसँग एक–एक वटा लगेज मात्रै थिए । जाँचका क्रममा दिदी भिनाजुको लगेज ह्यान्ड क्यारीमा गणना भयो । एकजनाले लगेज मात्रै बोकेको भए त्यो ह्यान्ड क्यारीमा गणना हुँदो रहेछ । सात केजी वा त्योभन्दा थोरै बढी भए पनि ।

तर, एकजनाले दुई वटा झोला बोकेको भए एउटा लगेज र अर्को चाहिँ ह्यान्ड क्यारीमा गनिँदो रहेछ । एक जनाले ७ केजीसम्म ह्यान्ड क्यारी बोक्न मिल्ने रहेछ । हामी दुई जनाको लगेज झन्डै २० केजी थियो त्यसैले हामी १२ सय भाट तिर्नुपर्यो ।

डन मुइएङले हामीलाई थाई लायनमै बिदाइ गर्यो । काठमाडौं त्रिभुवन विमानस्थलमा इमिग्रेसनमा एक कर्मचारीले भने, ‘तपाईंहरू नेपाली हो भने प्रवेशाज्ञा लिनुपर्दैन, सरासरी अघि जानू ।’
देब्रेतिर ६–७ जना गोरा प्रवेशाज्ञा लिन लाइनमा रहेछन् । डन मुइएङको भीड सम्झिएँ । अघि बढ्दै जाँदा लगेज लिने एउटा सेल्फी पोइन्ट राखिएको थियो, जहाँ लेखिएको रहेछ– भिजिट नेपाल २०२० । त्यहाँ एउटा फोटो खिचायौं र तल ओर्लेर लगेज लिएर बाहिर निस्कियौं ।
– यो लेख शिलापत्रका लागी पत्रकार नवराज कुंवरले लेखेका हुन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार