यी हुन दसैँका सदावहार गीतहरू..

नेपालीहरुको महान चाड विजया दशमी १० दिनसम्म धूमधामले मनाइन्छ। घटस्थापनामा जमरा रोपेर सुरु हुने यो पर्व दशमीको दिन मान्यजनहरुबाट टीका तथा जमरा लगाएर समाप्त हुन्छ। विजया दशमी असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा मनाइन्छ।

हिन्दू नेपाली यतिबेला दसैँको उल्लासमा छन् । सञ्चारमाध्यममा दसैँ गीत घन्किरहेका छन् । युट्युब च्यानलमा नयाँ दसैँ नयाँ गीत सार्वजनिक भइरहेका छन् । बर्सेनि सयौंको संख्यामा दसैँ गीत रिलिज हुने गरेका छन् । तर पनि रेडियो, एफएम तथा टेलिभिजनमा दसैँका पुराना केही गीतकै आधिपत्य रहिरहेको छ । जसलाई दसैँका सदावहार गीतका रुपमा लिन सकिन्छ । आज हामीले केही यस्तै सदाबहार गीतहरु चर्चा यहाँ गर्ने छौं , जुन नयाँ गीतले पुराना कालजयी गीतलाई जित्नै सकेको छैन । पुराना गीतले नै कव्जा जमाई रहेका छन् ।

१. बिछोडको पीडा नसकी खप्न…’ ।
नारायणगोपाल र दिलमाया खातीको युगल स्वर रहेको गीतमा रत्नशमशेर थापाको शब्द छ । यो गीतमा नारायणगोपाल स्वयम्ले ०३० को दशकमा संगीत भरेर रेकर्ड गराएका थिए । गीतमा परदेशमा भएको प्रेमीले प्रेमिकालाई मायाको चिनोको रूपमा चुराधागो लिएर दसैँमा भेट्न आउने सन्देश छ । यता, पहाडमा रहेकी प्रेमिका भने आफ्नो मनको व्यथा कसैले नबुझेको गुनासो गर्छिन् । बिछोडको पलमा पीडाले निद्रा समेत नलागेको बताउने प्रेमिकालाई डाँफे चरीसरी सामुन्नेमा आउने प्रतिबद्धता प्रेमीले जनाउने यो गीत दसैँसँगै यदाकदा अरू बेला पनि बजाउने गरेको पाइन्छ । 

२. ‘नमुछे आमा दहीमा टीका …’ 

साहै्र मार्मिक गीत । यो गीतलाई जित्ने गीत सायदै होला । ‘नमुछे आमा दहीमा टीका …’ दशैं आउने बित्तिकै धेरैले सम्झिने कालजयी गीत सुन्दा जो कोहीको आँखा आँसुले भरिन्छ । यस गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेखेका हुन् ।
परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतले आज नेपालीको मर्म गाएको छ । नेपाली युवाहरुको परदेशीनु पर्ने बाध्यतालाई यस गीतले समेटिएको छ । छोरो विदेश भासिएको छ, ऊ दसैँमा आउन पाउँदैन । अनि उसले भन्छ,  ‘नमुछे आमा दहीमा टीका….।

३. सशस्त्र प्रहरी बलले तयार गरेको फौजीको दसैं गीत

४.वर्षमा दिनमा लै लै
गायक सुगम पोखरेलले पोहोर सालमात्रै निकालेका हुन् यो गीत। ’शिलान्यास’ एल्बममा समाविष्ट यो गीतले दसैँको खुशियालीलाई समेट्न खोजेको छ। गीतमा प्रयोग भएका दही, जमरा, सयपत्री फूल, रातो निधारजस्ता शब्दले दसैँको माहोल झल्काउँछ।

५. दसैँ आयो
‘मुगलान’ फिल्ममा समाविष्ट ’दसैँ आयो’ गीतमा उदितनारायण र दीपा झाको स्वर छ । सुरेश अधिकारीको संगीतमा बनेको यस गीतले दसैँको सामाजिक परिवेशलाई उतारेको छ । बारीमा तोरी फुलेको, धान झुलेको, लाहुरेहरू गाउँ फर्केको प्रसंग गीतमा उठाइएका छन् ।

६. ‘दाइ त मेरो लाहुर जाने…’ ।
युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतमा शब्द दैवज्ञराज न्यौपानेको छ । युक्त गुरुङले नै संगीत भरेको गीतमा दिदीभाइको सम्बन्धसँगै लाहुरेको कथा समेटिएको छ । लाहुर गएको दाइले आफ्नी प्यारी बहिनीलाई दसैँमा फूलबुट्टे सारीसँगै मखमली चोली ल्याइदिने गरेको यथार्थ गीतमा अटाएको छ । वर्ष दिनको चाड दसैँमा लाहुरे छोरो आउने आशमा बुवाआमाले घामको झुल्कोसँगै मूलबाटोमा आँखा बिछ्याइरहने कथा गीतमा छ । लाहुरमा रहेको छोराले वर्ष दिनमा आउने दसैँमा जसरी पनि बुवाआमाको आशीर्वाद लिन आउने बताउँदै गीत सकिन्छ । यो गीत दसैँसँगै तिहारमा पनि उत्तिकै बज्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार