पोखरामा यस्तो अवस्थामा भेटिए बाँकेबाट हराएका दुई बालिका

बाँकेबाट हराएका दुई बालिका पोखरामा भेटिएका छन्। राप्ती सोनारी गाउँपालिका १ कुसुम बैरिया निवासी वर्ष ११ की बन्दना बि.क. र निशा परियार असोज ४ गते राती घरबाटै हराएका थिए। उनीहरु हराएको एक हप्तापछि पोेखरामा फेला परेका हुन्।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा सकुशल भेटिएको जानकारी आएको बताए। ‘बालिकाहरु पोखरामा फेला परेको जानकारी हामीलाई आएको छ, उनीहरु कसरी र को सँग त्यहाँ पुगे भन्ने कुरा अनुसन्धानबाट खुल्छ,’ मल्लले भने। दुबैका परिवारले आफन्त कहाँ जताततै खोजी गर्दा पनि बालिकाहरु कतै फेला परेका थिएनन् ।

ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी नायव निरीक्षक(सई) पुष्करराज जोशीले बालिकाहरु पोखरामा भेटिएको खोजी गर्न त्यहाँ पुगेका परिवारकै सदस्यले जानकारी दिएको बताए। उनले भने, ‘बन्दना बि.क यसअघि परिवारसँग पोखरा गएको रहेछ, त्यहाँबाट फर्केपछि पनि कहिले काही पोखरामा फोन गर्ने गरेको हुँदा त्यतै गएको शंका लागेर खोजी गर्न हामीले परिवारलाई त्यहाँ पठाएका थियौं, आज बिहान बालिकाहरु पोखरामा सकुशल अवस्थामा भेटिएको कुरा फोनमार्फत जानकारी दिनु भएको छ।’ उनीहरु कसरी पोखरा पुगे भन्ने कुराको विस्तृत जानकारी बालिकाहरु घरमा आईसकेपछि पत्ता लाग्ने जोशीले बताए।

उनले थपे, ‘बालिकाहरु कसरी पोखरा पुगे, रातको समयमा कहाँबाट गाडी चढें, त्यो सबै कुरा उनीहरु घरमा आएपछि पत्ता लगाउँछौं।’ परिवारका अनुसार गत मंगलबार बेलुका करिब ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार