चुनावले रोकेन वैदेशिक रोजगारमा जानेे युवालाई

काठमाडौं । देशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जान भने रोकिएन । झन् वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।

मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । तर, मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिरहेका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जान ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला ।

वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जान असोज महिनामा श्रम स्वीकृति लिएका छन् । असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०७९/८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार