द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता बनेका करण राईले गीत-संगीत क्षेत्रमा थप सक्रिय रुपमा लाग्ने बताएका छन् ।
शुक्रबार भएको ग्राण्ड फिनालेमा विजेता घोषित भएपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली गीत-संगीतलाई आफ्नो तर्फबाट टेवा दिने कोसिस गर्ने बताएका हुन् । नेपालमा जन्मिएका गायक राई बाध्यतावश आफू अमेरिका पुगेको बताउँछन् ।
‘नेपालमा मेरो जन्म भयो । तर, बाध्यतावशअमेरिका गएँ । नागरिकको हिसाबले म अमेरिकन नागरिक भएपनि मनको हिसाबले मेरो देश नेपाल हो’ उनले भनेका छन् ‘किनभने मेरो आमा, मेरो माटो, बोल्ने भाषा सबै नेपाली हो । अब त झन गीतसंगीतमा सक्रिय हिसाबले लाग्छु । र, नेपाली गीत-संगीतलाई टेवा दिने कोसिस गर्छु ।’गायक राई टिम राजु (राजु लामा)बाट विजेता बनेका हुन् ।
टिम राजुलाई विश्वास गरेर आफूलाई भोट गर्ने स्रोता एवं दर्शकलाई समेत उनले धन्यवाद दिएका छन् । आफूमा अब ठूलो जिम्मेवारी थपिएको बताउँदै उनले त्यसलाई निभाउने कोसिस रहने बताएका छन् । चाँडै नै राम्रो गीतमार्फत स्रोता दर्शकसामु आउने तयारी गरिरहेको विजेता राईले बताए । विजेता बनेका राईले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।
‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा राजु लामासहित प्रमोद खरेल, राजेशपायल राई, प्रविशा अधिकारी निर्णायक थिए । टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् ।