‘दलितकी छोरी बिहे गर्दा मैले के अपराध गरेँ हँ ?

म मुकुन्दे
हो म पुण्यप्रसाद सुवेदीकै छोरो हुँ ।
बुधबार
तमोर नदीमा धमिलो पानी
एकातिर
वल्लो किनार पल्लो किनार गर्दै थिएँ

अर्कातिर
एउटा किनारमा
पुण्यप्रसादको पार्थिव शरीरमा
आगोको पुल्टो सल्किँदै थियो
मेरो आँखाको डिलमा
आँसुका भेलहरु
तमोरको पानीसँगै बग्दै थिए ।
…………………….
गोविन्द, दुर्गा र चन्द्र सुवेदीको टाउकोमा
सेतो टालोले शोक मनाउँदै गर्दा
मेरो टाउकोमा कालो कपालले
रमिता हेर्दै थियो
मानाैँ मेरो कपाल दर्शक हो
मानाैँ म
समाजको अनुहारमा कालो पोत्ने अँगार हुँ ।
……………………
पुण्यप्रसादको मुखमा दागबत्ती झोसिँदा
म मलामीसँगै
मलिन अनुहारमा
मुन्टाे उठाएर
सुँक्कसुँक्क सुकसुकाउदै
हात लम्किन खोज्थ्यो

तर
मनको हात छातीमै राखेर
दागबत्ती दिएको कल्पना गरेँ
र धिक्कार्न थालेँ
थुक्क ! म र मेरो समाज धन्न टिकेको रहेछ ।
……………………….
हो म पुण्यप्रसादकै छोरो हुँ
जसको हात समातेर
म हुर्किएँ, बढेँ र पढेँ
आज उसकै लास चितामा जल्दा
ममाथि समाजले प्रश्न तेर्साएर
मेरो पाइला रोक्यो
म भित्रभित्रै जलिरहेँ
मुटु भक्कानिरह्यो
भित्रभित्रै सोधेँ
मैले दलितकी छोरी बिहे गर्दा के अपराध गरेँ हँ ? 

आफूलाई जन्म दिने बुवाको निधन हुँदा मनमा थामिन नसकेको आँसु आँखाबाट त बगेको थियो नै । जन्म दिने बुवाको सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्न नपाउनुको पीडा छुट्टै थियो कवि मुकुन्द सुवेदी (प्रयास) लाई ।

धनकुटाको मूलघाटमा बुवाको चिता जलिरहँदा आगो कवि मुकुन्द प्रयासले आफ्नो पीडालाई माथिका कविताबाट व्यक्त गर्नु भएको छ ।

धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्ले निवासी यज्ञप्रसाद सुवेदीका कान्छा छोरा हुनुहुन्छ मुकुन्द सुवेदी । उहाँलाई जन्म दिने बुवा यज्ञप्रसाद सुवेदी बितेको ५ दिन भैसकेको छ । तर उहाँले आफ्ना दाजुभाइ र आफन्तजनहरुसँग आफ्नो पुर्ख्यौली घर पाख्रीवास गएर किरियापुत्री बस्न पाउनु भएको छैन । त्यसको एउटै मात्र कारण हो । दलित समुदायको केटीसँग विवाह ।

चार भाइ, एक बहिनीमध्ये परिवारमा मुकुन्द कान्छा छोरा हुनुनुहन्छ । बुबाको मृत्यु हुनुअघिसम्म दाजुभाइ तथा आफन्तसँग राम्रो सम्बन्ध रहेको मुकुन्दको अहिले बुवाको निधन भएको ५ दिन बितिसक्दा पनि एक पटक आफूलाई फोन नगरेको मुकुन्दले बताउनुभयो । बुवाको निधन हुनु अगाडि घर गएका मुकुन्दले हिन्दू परम्पराअनुसार बुबाको वैतरणी गर्न आफैले गाई किन्नु भएको थियो । बुवाको वैतरणी सकेर धनकुटा घर आइपुग्दा बुवाको निधन भयो भन्ने जानकारी छिमेकीबाट थाहा पाउनुभयो ।

जेठो दाइ गोविन्द सुवेदीको मोबाइल नम्बरबाट उहाँलाई छिमेकीले साउन २२ गते फोन गरी बुवाको निधन भएको र उतैबाट मलामी जान तयार हुनू भन्ने जानकारी भयो । त्यसैअनुसार उहाँ मूलघाट मलामी जान तयार हुनुभयाे र जानुभयाे पनि । तर दाहसंस्कार स्थलमा उहाँलाई बुवालाई दागबत्ती दिनसम्म भने दिइयो । तर छिमेकीमार्फत ‘पुर्ख्यौली घर नआउनू भन्ने हामी दाजुभाइको सल्लाह भयो’ भनेपछि उहाँ आफ्नो घर जानु भएन ।

अहिले उहाँ श्रीमती मैया रसाइली र छोरासहित धनकुटा नगरपालिका–७ मा रहेको आफ्नै घरमा बस्नु भएको छ । हिन्दू परम्पराअनुसार केश काटेर सेतो कपडा लगाएर किरिया बस्नु पर्ने हो । तर उहाँले त्यसो गर्नु भएन । केश मात्र काटेर सामान्य कपडा लगाएर उनी दुःखमा बस्नु भएको छ । उहाँले स्थानीय बुद्धिजीवी टीकाप्रसाद लामिछानेको सल्ला अनुसार १२औँ दिनको दिन भदौ १ गते चोखिने योजना रहेको बताउनुभयो ।

२०५३ सालमा धनकुटा नगरपालिका–९, बेलहाराकी मैया रसाइलीसँग विवाह गरेका मुकुन्दको अहिले एक छोरा रहेका छन् । मैया स्थायी शिक्षिका हुनुहुन्छ । कवि तथा साहित्यकारको रुपमा चर्चित मुकुन्द धनकुटा बजारमा रकभा आर्ट सेन्टर चलाएर बस्नु भएको छ ।

बुवाआमा बिरामी हुँदा आफूले उपचार गरेको र २०६१ सालमा घरका दाजुभाइको अनुरोधमा घर जाने आउने गरेको भए पनि अहिले ससुराको निधन हुँदा अचानक जातीय विभेदको हिसाबले हेरिएको मुकुन्दकी श्रीमती मैया रसाइलीले बताउनुभयो । ‘ल म त दलितकी छोरी भएँ । तर उनको कान्छा भाइलाई त बोलाउँदा हुने थियो नि ? हामीमाथि ठूलो अन्याय भयो’, रसाइलीले भन्नुभयो ।

मुकुन्दका जेठा दाजु गोविन्द सुवेदी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाख्रीवास नगर कमिटीका सचिवालय सदस्यसमेत हुनुहुन्छ । त्यस्तै माइला दाजु दुर्गा सुवेदी र माइली भाउजू मातृका सुवेदी विद्यालयका प्रधानाध्यापकहरु हुन् । दाजु स्थानीय गुराँसे प्राविका प्रधानाध्यापक हुन् भने भाउजू शहीद यज्ञ प्राविका प्रधानाध्यापक हुन् । 

माइला दाजु पनि नेकपा पाख्रीवास नगर कमिटीको सचिवालय सदस्य नै हुन् । साहिँला दाजु चन्द्र सुवेदी भने गाउँघरमा नै पुरेत्याइँ गर्दै आउनु भएको छ । दाजुभाइहरु यति शिक्षित हुँदाहुँदै पनि एकाइसौं शदाब्दीमा आएर मानिसले मानिसमाथि विभेद गर्नु विडम्बना रहेको अधिकारकर्मीहरु बताउँछन् ।

(यो लेख उज्यालो अनलाईनका लागी सन्तोष रुचालले लैख्नु भयको हो)

तस्बिर:गुगल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार