काठमाण्डाै – आज महाशिवरात्रि पर्व, देशभर भगवान श्री महादेवको पूजा आराधनासहित मनाइँदैछ।आज महादेवको पूजा आराधनाका लागि काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।
पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भिड लागेकाे छ । आज बिहानैदेखि भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भिड लागेकाे छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रुपमा अघि बढिरहेको बताउनु भयो । उहाँले अहिलेसम्म करिब डेढ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको बताउनु भयो । त्यस्तै एक दर्शनार्थीले पशपतिनाथको दर्शन गर्न सहज भएको बताउनु भयो ।
त्यस्तै अर्का एक दर्शनार्थीले चारैतिरको बाटोको व्यवस्था भए पनि व्यवस्थापन सहज नदेखिएको बताउनु भयो । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्लाे वर्षको तुलनामा यस वर्ष धेरै नै व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको बताउनु भयो ।
महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएका थिए ।