आज कृष्णजन्माष्टमी, यसरी गर्नुस् श्रीकृष्णको पूजा आराधना…

काठमाडौं ०६ भदौ / भाद्र मासको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन् र घरघरमा उनको बालरूप अर्थात् बालगोपालको पूजा गरिन्छ ।

बालगोपालको विशेष पूजा अष्टमीको दिनमा गरिन्छ । पूजामा ध्यान दिनुपर्ने कुरा यी हुन् ।

सबभन्दा पहिले गणेशजीको विधिवत पूजा गर्नुस् । त्यसपछि श्रीकृष्णको पूजा शुरू गर्नका लागि हात जलले धुनुस् अर्थात् प्रक्षालन गर्नुस् । आफ्नो हात सफा पानीले धोएपछि श्रीकृष्णका हातमा जल अर्पित गर्नुपर्छ । सुगन्धित फूल राखिएका जलको उपयोग गर्नुपर्छ । सुगन्धित फूल भएको जलले नै बालगोपाललाई स्नान गराउनुपर्छ ।

बालगोपालसँगै गौमाताको मूर्ति पनि राख्नुपर्छ । श्रीकृष्णलाई गौमाता प्रिय छिन् । त्यसैले जन्माष्टमीमा गौमाताको पूजा गर्नुस् । गौशालामा हरियो घाँस वा नगद दान गर्नुस् ।

श्रीकृष्ण पूजनमा आसन एकदमै आवश्यक छ । श्रीकृष्णका लागि सुन्दर आसन उपयोग गर्नुपर्छ । आसनको रंग तेजिलो र चम्किलो हुनुपर्छ । पहेंलो, रातो र सुन्तला रंग सबभन्दा राम्रो हुन्छ । भगवान् पीताम्बरधारी हुनुहुन्छ त्यसैले उहाँलाई पहेंलो वस्त्र चढाउनुपर्छ ।

श्रीकृष्णको पाउ धुनुपर्छ र जुन भाँडोमा पाउ धोइन्छ त्यसलाई पाद्य भनिन्छ । पूजाअघि पाद्यमा स्वच्छ जल र फूल राख्नुस् ।

दूध, दही, घिउ, मह र चिनी मिसाएर पञ्चामृत बनाउनुस् । शुद्ध भाँडोमा पञ्चामृत भरेर भगवानलाई भोग लगाउनुस् । श्रीकृष्णलाई तुलसी नराखिकन भोग लगाउनुहुँदैन ।

पूजामा भगवान् श्रीकृष्णको मन्त्र कृं कृष्णाय नमः तथा ऊँ नमो भगवते वासुदेवाय जप गर्नुपर्छ ।

दूबो, कुमकुम, अक्षता चामल, अबीर, सुगन्धित फूल र शुद्ध जललाई पञ्चोपचार भनिन्छ । श्रीकृष्णको पूजामा यी कुरा आवश्यक हुन्छन् ।

श्रीकृष्णको पूजामा लगाइने भोगमा ताजा फलफूल, मिठाइ, लड्डु, मिश्री, खीर, तुलसीका पात र फल राख्नुपर्छ ।

बालगोपालको पूजामा गाईको दूधबाट बनेको घिउ उपयोग गर्नुपर्छ । दियोमा पनि घिउ उपयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार