मेरो लाश बाकसमा आयो भने के गर्छौ?परदेशीको कथा(भिडियो)

दिनभरिको काम र घामले थाकेको हुन्छु
कोठामा आईपुग्न पा’को छैन हतार हतार गर्दै लामो लस्करमा खाना पकाउन थाल्छु!

आधा खाई आधा भोलिको लागि भन्दै प्लास्टिकमा पोको पार्छु। निदाउनु अघि एक बचन परिवारको आवाज सुन्न मन लाग्छ
घडि हेर्छु, नेपालमा आधा रात भई सक्यो सुते होलान् जस्तो लाग्छ अनि म पनि कोल्टे फिर्दै भोलिको बिहानी पर्खेर निदाउने कोसिस गर्छु।

साथिहरूले घच्घच्याउँदै उठाउँन थाल्छन् म सोच्छु दिन जसरी नै रात पनि किन ढिलो नगएको होला.

अनी हिजो पोको पारेको बासी भात बोकेर फेरि काम तिर लाग्छु। मोबाईल खोलेर हेर्छु घरबाट न मिसकल आएको हुन्छ, न त कुनै म्यासेज नै।

घाँस दाउरा अनि छोराछोरीलाई सम्हाल्दा सम्हाल्दै मलाई मिस गर्ने फूर्सद मिलेन होला भन्ने सोच्छु र काम तिर लाग्छु। दिउसो एक बजे तिर खजुरको बोटमा राखेको बासी भात प्लास्टिक बिछ्याएर खान खोज्छु,

अलि अलि गनाउन थालेको जस्तो लाग्छ! फाल्न मन लाग्दैन, भोकै हुन्छु भनेर होईन, मेरो दुख यसकै लागि त हो नि भनेर सम्झन्छु ।

अनि दुई घुट्कि पानी पिउदै भात खान्छु। साँझ फेरि लाइनमा बस्छु खाना बनाउँछु अनि फेरि परिवारसंग कुरा गर्न खोज्छु। दिनभरिको कामले म जस्तै थाकेका होलान् आराम गर्न दिनुपर्छ भन्ने लाग्छ र म निदाउने प्रयास गर्छु।

मरुभूमिको देशमा बालुवामा पानी जमाउँछु र राम्रो काम गरेर मेनेजरलाई खुशी पार्छु भन्नु उस्तै रहेछ। दिनभरि यता र उता डुल्ने, खैनी चुरोट खाने घन्टौ बिताउने र अरूको सानो कुरा माथि लगेर सुनाउने नै राम्रा र ईमान्दार हुँदा रहेछन्।

मेनेजर आउँछ गाली गर्छ नगरेको गल्तिलाई तैले गरेको हो तलब काटि दिन्छु भन्दै जान्छ! अनि म सोच्छु मैले बस्दै नबसि गरेको काम खोई कसले देख्यो? अरूले भन्दा दुई गुणा धेरै गरेको खोई कहॉ गयो?? मेनेजरलाई त्यहि पाइप बिछ्याउन खनेको खाडलमा मारेर गाडिदिने झ्वाँक चल्छ तर सोच्छु यसलाई मारे पछि म पनि मर्नु पर्छ! यहाँको कानुनले मलाई पनि छोड्दैन। अनि फेरि के गर्लान् मेरो परिवार म बिनाको संसारमा? के गरेर खालान्? यस्तै सोच्दा सोच्दै महिना मर्छ।

महिना मरेको हिसाब परिवारलाई भनि राख्नु पर्दैन। सधैं मिसकल नै नआउने माबाईलमा १२ १५ मिसकल आईरहेको हुन्छ, लाग्छ कसैलाई गाह्रो साह्रो पो भयो कि? हतार हतार फ़ोन गर्छु, कस्तो छ तपाईलाई भनेर सोध्दै नसोधि आज त २० तारिक भई सक्यो त अझै तलब आएको छैन भनेर सोध्छन्। मन कटक्क खान्छ त्यहि पनि मायाले आएको छ भरै हालिदिन्छु भन्छु।

उता अस्ति त २५ हजार पठाएका थियौ त यो महिना चाँहि किन थोरै भनेर गाली गर्छन्, कि अर्कै छ त्यता भनेर शंकाका वाण पनि हान्छन्! तर तिनीहरूलाई के थाहा मेनेजरले तलब काटिदिएको। सुनायो भने पनि काम गर्न गा’को मान्छे काम नगरी बस्यो होला त काट्छ त भन्ने बाहेक अरू केहि सुन्न पाईदैन।

आँखाबाट कति बेला मुसल्धारे पानी पर्छ थाहै हुदैन, सोच्छु घरकाले त बुझ्दैनन् त कसरी बुझुन् यहाँका ब्वासोहरुले।

कहिले काहिँ चिच्याउँदै सोध्न मन लाग्छ!
थाकेर आएको हुन्छु, तिम्रो एक बचन सुन्नलाई मनै तिर्खाउथ्यो। तै पनि म खुशी थिए। अनि बिहान उठ्दा तिमीले पठाएका म्यासेजहरू पढ्न मन लाग्थ्यो तर तिमी अनलाइनमा भएर पनि म्यासेज आएका हुदैनन् थे। तै पनि म खुशी थिए।

तिमीलाई बासी भात मनै पर्दैन थियो, तै पनि मैले यहाँ मिठो मानी मानी खान्थे। तिमी १ घन्टामा सक्ने काम भोलिलाई समेत राख्थ्यौ, तर यहाँ मैले २ दिनको काम एकै दिनमा गर्नु पर्थ्यो। तिमीलाई तिम्रा साथि आफन्तले के गर्दैछौ? सन्चै छौ भनेर सोध्थे तर मलाई यहाँ दिनै मेनेजरको गाली सुन्नु पर्थ्यो।

हुन त मेरो कुनै गुनासो छैन तिमीसंग। तिमी रिसाउँदा दुख लाग्दैन। किनकी त्यो गाली नै सहि म तिम्रो आवाज त सुन्न पाउथे।
जसको लागि मैले धेरै पल्ट मोबाईल पल्टाउँनु पर्थ्यो।

तिमी रिसाउ, खुशी हौ, मलाई कुनै पछुतो छैन। तर एउटै प्रश्न मेरो तिमीलाई- तिमीले पनि मेनेजर जस्तै गाली र नराम्रो भन्दै गर्दा मेरो सोच्ने शक्ति नै हरायो भने के गर्छौ?

धेरै थोरै जति भए पनि पैसा पठाई राखेको छु, कतै काम गर्ने त्यहि हात खुट्टा गुमाएँ भने के गर्छौ??

घाम र कामले थाकेर आएको म बिहान तिम्रो मिसकल सुन्न नपाई सुतेको सुतै भए भने के गर्छौ??? पैसा होईन, मेरो लाश आयो भने के गर्छौ?

फेसबुक बाट साभार..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार