स्मार्ट बन्दै भेडेटारका होटल, बैंकिङ प्रणालीबाट पैसा तिर्न सकिने

धनकुटाको भेडेटारका होटलहरुमा बस्नुअघि खल्तिभरी पैसा बोकेर हिँड्नुपर्दैन केबल बैंकको एटिएम वा भिजा कार्ड बोके पुग्छ । किनकी यहाँका होटलहरुले स्मार्ट सेवा दिन थालेका छन् । र, पर्यटकीय होटल तथा ग्राहकबीचको कारोबार बैंकिङ प्रणालीबाट हुन्छ ।

यस्तो सेवा सुरु हुनुअघि आफूले बोकेको पैसाभन्दा धेरै बिल आएमा भेडेटारबाट धरान, धनकुटा पुगेर एटीएमबाट पैसा निकाल्नुपर्ने झन्झट थियो । अब त्यो बाध्यता हटेको छ ।

ग्राहकको सुविधाका लागि भेडेटारका पर्यटक क्लासका होटलहरुले बिलिङकालागि डेबिट र क्रेडिट कार्डबाट पनि पैसा तिर्ने व्यवस्था मिलाएका छन् । ग्राहकहरुले पैसा तिर्दा बैंकिङ प्रणालीबाट पनि गर्न सकुन् भनेर यस्तो सेवा ल्याइएको होटल सञ्चालकहरुले बताएका छन् ।

हाल एसबीआई र सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्डहरु होटलले लिन थालेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए । एससीटी र भिजा कार्ड दुवैखाले ग्राहकको सेवामा यस्तो सुविधा ल्याइएको लावतीले जानकारी दिए ।

भेडेटारमा रहेका ४० मध्ये १७ वटा होटलहरुले हाल स्मार्ट सेवा दिइरहेका छन् । यो सेवा थप गर्न अन्य होटलहरु पनि जागरुक भएको होटल व्यवसायीहरु बताउँछन् । लावती भन्छन्, ‘होटलमा उठेको विलिङलाई बैंकिङ प्रविधिसँग जोडेर स्मार्ट सेवा दिएका छौं । यो सेवा धेरै राम्रोसँग रुचाइएको छ ।’

पोस मेसिन भनिने प्रविधि होटलमा जोडिएको छ जसबाट होटलमा बस्न जानुभन्दा अघि पैसा खल्तिमा बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।

नेपालबाहेक विदेशबाट आएका र बैंकिङ कारोबारबाट रकम तिर्न चाहनेलाई सजिलो होस् भन्नका लागि यस्तो सेवा सुरु गरिएको होटल एशोसिएसनका अध्यक्ष लावती बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार