सर्लाही शंकरपुरका ३० बर्षीय विन्देश्वर महतो ५ महिना अघिसम्म नेपाल प्रहरीको जवान पदमा कार्यरत थिए । १० बर्षमा प्रहरी सेवामा रहँदा पनि घरको आर्थिक अवस्थामा थोरै पनि सुधार आएन । मासिक १७ हजार तलबमा घरपरिवार चलाउन मात्रै होइन भाईको पढाई, बिरामी आमाको औषधि उपचार थेक्नै नसक्ने अवस्थामा थिए ।
यही मौकामा उनलाई विनोद तामाङ भनेर चिनिने विजु तामाङले दुवई प्रहरीमा आर्कषक तलब सुविधा भएको र पूर्व प्रहरी, आर्मीलाई प्राथमिकता दिने भन्दै दुवई पठाइदिने आश्वासन दिए । त्यसपछि केही दिनमै सबै प्रकृया पूरा गरे ४ लाख ५० हजार रुपैयाँ उपदान लिएर नेपाल प्रहरीको जागिरबाट राजीनामा दिए ।
उपदानको ४ लाख ५० हजार रुपैयाँ विनोद तामाङलाई बुझाए । तामाङले सबै सेटिङमा भएको भन्दै उनलाई भिजिट भिषामा दुवई पु¥याए । तर दुवई पुगेको ५ महिना उनको जीवनकै कष्टकर समय रह्यो ।
दुवई पुलिसको कामको त के कुरा ? दुवईमा भिषा सकिएर अवैध भैसकेपछि दुवई पुलिसकै डर, क्राशमा लुकेर बस्न बाध्य भए । कति दिनरात भोकै सुते, कति दिनरात पानीको भरमा काटे ।
फेरि नेपालमा ऋण खोजेर दुवईको अध्यागमनमा जरिवाना तिरेर, ऋणमै टिकट काटेर स्वदेश त फर्किए तर पहिले ठूलो सपना देखाएका विनोद तामाङले अहिले न भेट्छन्, न त फोन नै उठाउँछन् । उनी मात्रै होइन, विनोद तामाङले पठाएका अन्य धेरैको अवस्था विन्देश्वरको जस्तै छ ।