पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन्

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा परेका निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्षका लागि सरकारले विनियोजन गरेको रकम नै खर्च गर्न सकेका छैनन् । दुवै आयोजनाका लागि छुट्टाएको लगभग ६ अर्ब ५० करोड बराबरको रकम खर्च नभई बसेको छ ।

अर्थ मन्त्रालयले बुधबार आर्थिक वर्ष ०७४/०७५ को अर्ध वार्षिक समिक्षा गरेको छ । जसमा यी दुईवटै विमानस्थलका लागि छुट्टाएको बजेट खर्च हुन नसकेको उल्लेख गरिएको छ ।

‘दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको प्रारम्भीक काम नै सुरु नभएका कारण बजेट खर्च हुन सकेको छैन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा जग्गा प्राप्तीको समस्या छ जसका कारण बजेट खर्च हुन नसकेको देखिएको छ । ’ बजेट अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ ।

बैकल्पिक अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थलले पर्यटन क्षेत्रलाई माथि उठाउने विश्वासका साथ निर्माण गर्न लागिएको हो । तर, अहिलेसम्म यसको निर्माणमा खासै प्रगति हुन सकेको छैन ।

चालु आर्थिक वर्ष ०७४/०७५ मा यस आयोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, बजेट विनियोजन भएको ६ महिनासम्म कुनै पनि रकम खर्च हुन सकेको छैन ।

निजगढ विमानस्थलका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै यसका लागि आवश्यक १ सय १० बिगाहा जमीन अधिग्रहणको पनि प्रक्रिया अघि बढाइएको छ । डिटेल डिजाइन तयार गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट कार्य पनि प्रक्रियामा नै रहेको छ ।

साथै यस आयोजनाले अहिलेसम्म वन क्षेत्रको रुख कटान गर्नको लागि अनुमति पाएको छैन । जसका कारण पेरिमिटर सडक निर्माण पनि अघि बढ्न सकेको छैन ।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका लागि यो वर्ष सरकारले छुट्टाएको ५ अर्ब रकम पनि खर्च हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा राखिएको यो आयोजना सरकारले सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सन् २०११ मा नै यो आयोजनाको सुरुवात भए पनि अहिलेसम्म कुनै भौतिक प्रगति हुन सकेको छैन । यस आयोजनाका सरकार र चीनवीच ऋण सम्झौता भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय बिमानस्थलले भने चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार