काठमाडौं । काठमाडौंको टुँडिखेलको रक्षाका लागि शनिबारबाट अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसका अवसर पारेर अकुपाइ टुँडिखेल अभियान सुरु गरिएको हो । यस अभियानमा संचारकर्मी रवि लामिछाने, नेता गगन थापा देखि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सम्म सडकमा ओर्लिएका छन् ।
टुँडिखेल खुला गर्न र जनताको स्वामित्वमा ल्याउनका लागि दबाब दिने उद्धेश्यसहित शनिबार बिहान ८ देखि १० बजेसम्म दुई घण्टा मानव साङ्लोले टुंडिखेल घेरिएको हो । नागरिकस्तरबाट भएको यो अभियानमा जनप्रतिनिधिदेखि सर्वसाधारणको सहभागिता रहेको थियो ।
जनप्रतिनिधिकै संलग्नतामा टुँडिखेल लगातार साँघुरिँदै गइरहेको र अझैं साँघुरिने अवस्था रहेकाले खुला गर्न र जनताको स्वामित्वमा ल्याउनका लागि दबाब दिने उद्धेश्यसहित स्वतन्त्र नागरिक अभियान सञ्चालन गरिएको अकुपाइ टुँडिखेलका अभियान्ताहरुको भनाइ छ । अभियान्ताकाअनुसार ३ महिनासम्म हरेक हप्ताको शनिवार यो अभियान निरन्तर चलिरहनेछ ।
पूर्व स्वास्थ्यमन्त्रि गगन थापाले मिडियासंग कुराकानी गर्दै भने: “टुँडिखेलको अहिलेको अवस्था आउन म दोष सरकारलाइ वा कुनै एक पार्टीलाई मात्र दिन्न बरु हामी सबैले आफ्नो गल्ति सच्याउदै अब जोगाउन तर्फ लाग्न जरुरी छ ।
हिजो हामी सबैले विकासको नाममा गरेका गल्तिले गर्दा आज टुँडिखेल जनताको स्वामित्वमा नरहने डरले हामी अब जोगाउन र कदमहरु सच्याउन तर्फ लाग्नु पर्नेछ । टुँडिखेल मात्र नभएर अरु धेरै यस्ता ठाउहरु छन् जुन हामीले जोगाउन जरुरी छ ।”