नेपालको एक इन्च भूमि पनि छाड्नु हुन्न, भूमि रक्षाका लागि तयार बनौं : राजपा अध्यक्ष मण्डल सदस्य यादव

काठमाडौं, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू-भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताउनु भएको छ ।

उहाँले नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको चर्चा गर्दै अहिले मुलुकमा बलियो सरकार रहेको र सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको बताउनुभयो । विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालीन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ ।

आइतबार काठमाडौंमा आयोजित अन्र्तक्रियामा नेता यादवले नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै ती भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको गुनासो गर्नुभयो । परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिनुभयो । ‘नेपालको एक ईन्चपनि भूमि हामी छोड्दैनौं’-यादवले भन्नुभयो,‘देशको भूमि रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भीरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको पनि बताउनुभयो । उहाँले अगाडि भन्नुभयो,‘यो सरकारलाई अवसर र चूनौती दुवै छ । यत्रो सहमति र समर्थन हुँदाहुँदैपनि सरकारले केही गर्न सकेन भनेर हुन्छ । राजपाले पनि समर्थन जनाएको छ ।’

यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने बताउँदै भन्नुभयो ,‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन् । नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ । यो सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको छ । आन्दोलनले प्रतिकुलता सिर्जना गर्छ । बरु, वार्ताबाट समाधान गर्नुपर्छ ।’

नेपालसँग नक्शा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार