‘कबड्डी ३’ ले पूरा गर्यो ५१ दिने यात्रा,कमायो यती करोड

काठमांडू,
यस वर्षको ब्लकबस्टर फिल्मको सूचीमा रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले आफ्नो नाम लेखाउन सफल भएको छ । गएको असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मले सफलताको मानक मानिने ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको छ । शनिबार यो फिल्मले राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो ।

बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले प्रदर्शनको ५१औं दिन मनाएको निर्देशक गुरुङले बताए । वितरक कम्पनी स्टेशन फाइभले फिल्मको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ । फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको छ । यस वर्षको असोजसम्म कुनै फिल्मले यो आँकडा छुन सकेका छैनन् ।

‘कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म पनि बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए । ‘कबड्डी’ सिरिजमा सबैभन्दा ठूलो व्यापार गर्ने फिल्म हो यो । अघिल्ला दुई सिरिजले बक्सअफिसमा ७ करोडभन्दा बढी छाप्न सकेका थिएनन् । ब्रान्ड नामका कारण फिल्मले हलमा लामो यात्रा तय गर्न सफल भएको हो ।

फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार