काठमांडू,
चकलेटी अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । दिन प्रतिदिन प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार-प्रचारलाई चुस्त बनाउन थालेको छ । यसबीच, फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।
चार पोस्टरमा प्रेम अर्थात् आर्यन सिग्देल, भोला अर्थात् भोलाराज सापकोटा, संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात् माओत्से गुरुङ फिचर्ड छन् । क्यारेक्टर पोस्टरमा चारै जना कलाकारलाई कमेडी अन्दाजमा देख्न सकिन्छ । दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा फिल्म केन्द्रित छ ।
जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको हो । फिल्ममा आर्यन र भोलाले हङकङ रिर्टन्स युवकको भूमिका निभाएका छन् । भने, मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय छ ।
रोमान्टिक-कमेडी जनरामा तयार भएको यो फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा सिजन दाहाल र सन्देश अर्याल पटकथा छ ।