सुमन कार्की,पाल्पा,२६ कार्तिक । पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ४ सत्यवतीमा रहेको सत्यवती तालमा सत्यवती बज्यै मेलामा लाखौ दर्शनार्थीहरूकाे सहभागिता रहेको छ । आइतबारबाट सुरु भएको मेला आज सकिँदै छ ।सिद्धार्थ राजमार्ग अन्तगर्त पाल्पा बुटवल सडक खण्डको चर्चरेबाट २ घण्टाको पैदलबाट पुग्न सकिने सत्यवती मेलामा पाल्पा सहित गुल्मी, रुपन्देही, अर्घाखाची लगायतका र भारतबाट समेत दशनार्थीहरु आएका छन् । खासगरि पहिले बर मागेर आफ्नो भाकल पूरा भएकाहरुले खुशीयालीमा पाठो, कुखुरो काट्ने र परेवा उडाउने प्रचलन छ भने नयाँ बर माग्नेहरुले सत्यवती ताल परिक्रमा गर्दै चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ ।
किंवदन्ती अनुसार धेरै पहिला एक जना स्थानीय केटा सोही सत्यवती ताल वरपर खेल्दै गर्दा बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भै एकाबिहानै कहिल्यै नदेखेकी बुढी आईमाई देखेपछि केटा डराई अत्तालिएछ र सत्यवती बज्यैले केटालाई नआत्तनु भन्दै “म सत्यवती बज्यै हु“ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउनेछु । तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।”
पछि सोही केटाले सत्यवती बज्यैसँग भेटेको कुरा घरमा पुगेर परिवारलाई भने लगत्तै उक्त केटाको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा हरेक वर्ष यहा मेला लाग्दै आएको हो ।